बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनका लागि नरिश्वर शर्मा पौडेल नेतृत्वको प्यानलले उम्मेदवारी घोषणा गरेको छ। ‘नयाँ सोच, नयाँ विचार, समावेशी साझा नेतृत्व’ भन्ने नारासहित चुनावी मैदानमा उत्रिएको टोलीले ‘सुरक्षित उद्योग र व्यापार, समृद्ध बुटवलको आधार’लाई आफ्नो मुख्य संकल्प बनाएको छ।
पौडेल नेतृत्वको प्यानलले संघलाई उद्योगी–व्यवसायीको साझा, भरोसायोग्य र प्रभावकारी संस्थाका रूपमा विकास गर्ने भन्दै २० बुँदे प्रतिबद्धता पत्रसमेत सार्वजनिक गरेको छ।
प्यानलबाट वरिष्ठ उपाध्यक्षमा सुरज भट्टराई, उद्योग उपाध्यक्षमा निर्मित कसजू, वाणिज्य उपाध्यक्षमा बाबुराम विश्वकर्मा, महासचिवमा बसन्तप्रसाद ढकाल, कोषाध्यक्षमा प्रतिक पोखरेल, सचिवमा दीपकप्रसाद चापागाईं र सह–कोषाध्यक्षमा कमला पोखरेल पराजुली (मञ्जु) ले उम्मेदवारी घोषणा गरेका छन्।
त्यस्तै एसोसिएट सदस्यतर्फ भानुभक्त खत्री (भानु), उद्योग सदस्यमा सुनिता बन्जाडे, कृष्णप्रसाद माण्डे, ज्ञानबहादुर पुन र लेखनाथ भण्डारी उम्मेदवार बनेका छन्। वाणिज्य सदस्यतर्फ गणेशप्रसाद भट्टराई, उमेश अमात्य, जगन्नाथ न्यौपाने र रामबहादुर भण्डारी चुनावी प्रतिस्पर्धामा छन्।
महिला सदस्यतर्फ रेनु श्रेष्ठ र मञ्जु पुरी गिरी तथा खुला सदस्यतर्फ विष्णु घिमिरे पन्त (कमला), दीपक घिमिरे, प्रदीप शाक्य, अलिम दिन, कृष्ण श्रेष्ठ (कलप्रसाद), शिवदेव अर्याल र विष्णु उपाध्यायले उम्मेदवारी घोषणा गरेका छन्।
पौडेल नेतृत्वको टोलीले व्यवसायीको सम्मान, व्यापारको सुरक्षा र बुटवलको आर्थिक विकासलाई प्राथमिकतामा राखेको जनाएको छ। प्रतिबद्धता पत्रमा व्यवसाय दर्ता तथा नवीकरणलगायत प्रशासनिक प्रक्रियालाई सरल, छिटो र पारदर्शी बनाउने विषयलाई जोड दिइएको छ।
मुख्य बजार क्षेत्रमा देखिँदै आएको पार्किङ तथा ट्राफिक व्यवस्थापनको समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने, बन्द वा विस्थापनको जोखिममा रहेका उद्योग–व्यवसायको संरक्षणका लागि पहल गर्ने तथा निर्माणाधीन सडक, ढल, खानेपानी र विद्युत् आयोजनालाई समयमै सम्पन्न गराउन दबाब दिने प्रतिबद्धता पनि टोलीले जनाएको छ।
व्यवसायीको सुरक्षालाई प्रभावकारी बनाउने, बुटवललाई लुम्बिनी प्रदेशकै प्रमुख आर्थिक केन्द्रका रूपमा स्थापित गर्ने तथा पर्यटन र व्यापारबीचको सम्बन्धलाई थप विस्तार गर्ने विषयलाई समेत प्रतिबद्धता पत्रमा समेटिएको छ।
त्यसैगरी डिजिटल भुक्तानी तथा अनलाइन व्यापारलाई प्रोत्साहन गर्ने, बैंक तथा वित्तीय संस्थासँग ब्याजदर र कर्जाका विषयमा नियमित संवाद गर्ने, भन्सार तथा आयात–निर्यात प्रक्रियालाई सहज बनाउने र स्थानीय उत्पादनको बजार विस्तार गर्ने योजना अघि सारिएको छ।
युवा तथा नयाँ उद्यमीलाई प्रोत्साहन, साना तथा मझौला व्यवसायको संरक्षण, महिला उद्यमीको पहुँच विस्तार, संस्थागत पारदर्शिता र लगानी प्रवर्द्धनलाई पनि टोलीले प्राथमिकतामा राखेको छ। संघबाटै व्यवसायीका समस्या समाधानका लागि एकद्वार सहायता प्रणाली स्थापना गर्ने प्रस्तावसमेत अघि सारिएको छ।
पौडेल नेतृत्वको टोलीले प्रतिबद्धता पत्रलाई केवल चुनावी घोषणाका रूपमा नभई बुटवलका उद्योगी–व्यवसायीका साझा आवश्यकता र एजेन्डाका रूपमा अघि बढाउने जनाएको छ। संवाद, सहकार्य, पारदर्शिता र परिणाममुखी कार्यशैलीलाई आधार बनाएर संघलाई थप प्रभावकारी बनाउने दाबी गर्दै टोलीले आफ्ना उम्मेदवारलाई अत्यधिक बहुमतका साथ विजयी गराउन उद्योगी–व्यवसायीसमक्ष अपिल गरेको छ।

