गगन थापाको घोषणा-‘कांग्रेसमा आजदेखि सबै गुट सकिए, अब कुनै समूह छैन’

by समतल अनलाइन
32Shares

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र रहेका सबै गुट र समूह समाप्त भएको घोषणा गरेका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुधबार बन्दसत्र समापन कार्यक्रममा बोल्दै थापाले कोइराला, पौडेललगायतका नाममा रहेका समूहसमेत अब नरहेको दाबी गरे।

‘विशेष न विशेष, कोइराला–पौडेल सबै गुट सकियो। कुनै समूह छैन। आजदेखि सबै सकियो गुट,’ थापाले भने।उनले महाधिवेशनपछि कांग्रेसलाई गुटगत आधारमा नभई एउटै पार्टीका रूपमा अघि बढाउने प्रतिबद्धता जनाए। लामो समयदेखि पार्टीभित्र रहेका समूह र विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्ने उनको भनाइ थियो।

थापाले पार्टीको आन्तरिक व्यवस्थापनमा मात्रै केन्द्रित नभई कांग्रेसलाई समाज र जनताबीचको बहसमा जोड्ने बताएका छन्। आफ्नो समयको ठूलो हिस्सा पार्टीभित्रको व्यवस्थापनभन्दा बाहिर रहेर कांग्रेसका नीति, विचार र मुलुकका समसामयिक विषयमा बहस गर्न खर्चिने उनले बताए।

सभापति थापाले महाधिवेशन सम्पन्न भएलगत्तै स्थानीय तहको निर्वाचनसम्म आफू दिनरात खटिने प्रतिबद्धतासमेत जनाए।

You may also like