काठमाडौं । १२ वर्षदेखि अड्किएको हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको छ। दशैँलगत्तै प्रसारण लाइन चार्ज गरेर सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले आइतबार हेटौँडा–ढल्केबर ४०० केभी सबस्टेसनको निरीक्षण गर्दै निर्माणाधीन दुई मल्टिसर्किट टावरको कार्यप्रगतिको जानकारी लिएका छन्।
प्रसारण लाइनअन्तर्गतका १६ टावरमध्ये १४ वटा डबल सर्किट टावर निर्माण भइसकेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले जानकारी दिए। बाँकी दुई मल्टिसर्किट टावरको काम पनि अन्तिम चरणमा पुगेको छ।
‘१०–१५ दिनमै बाँकी दुई टावर तयार गरेर चार्ज गर्छौं। दशैँलगत्तै सञ्चालन गर्ने तयारी छ,’ कार्यकारी निर्देशक श्रेष्ठले भने।
उनले प्रसारण लाइन सञ्चालनमा आएपछि हाल करिब ३०० मेगावाट विद्युत् प्रवाह भइरहेको हेटौँडा–ढल्केबर खण्डको क्षमता बढेर करिब २ हजार मेगावाट पुग्ने बताए। यसले विद्युत् आपूर्तिको विश्वसनीयता बढाउनुका साथै खपत विस्तार र विद्युत् निर्यातमा समेत सहयोग पुग्नेछ।
त्यस अवसरमा मन्त्री श्रेष्ठले हेटौँडा–ढल्केबर प्रसारण लाइनलाई नेपालको ऊर्जा क्षेत्रको मेरुदण्डका रूपमा रहेको बताए। लामो समयदेखि रोकिएको काम अघि बढाउन मन्त्रिपरिषद्बाट निर्णय गराएर प्रक्रिया अगाडि बढाइएको उनको भनाइ छ।
‘१२ वर्षदेखि अलमलमा परेको प्रसारण लाइनले अहिले गति लिएको छ। यो सम्पन्न भएपछि नेपालको ऊर्जा प्रणाली थप सन्तुलित र गुणस्तरीय हुन्छ,’ मन्त्री श्रेष्ठले भने।
हेटौँडा–ढल्केबर खण्ड सम्पन्न भएपछि पूर्व–पश्चिम विद्युत् प्रवाह थप सुदृढ र भरपर्दो हुने प्राधिकरणको अपेक्षा छ। यसबाट औद्योगिक क्षेत्रको बढ्दो विद्युत् माग सम्बोधन गर्न, वर्षायाममा उत्पादित विद्युत् खेर जान नदिन तथा अन्तर्देशीय विद्युत् व्यापार विस्तार गर्न समेत सहयोग पुग्ने बताइएको छ।

