मदन भण्डारी कप भलिबलको उपाधि नेपाल पुलिस क्लबलाई

by समतल अनलाइन
49Shares

बुटवल । बुटवलमा सम्पन्न दोस्रो संस्करणको मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ।

शनिबार भएको फाइनल खेलमा नेपाल पुलिस क्लबले संखुवासभाको सभापोखरी भलिबल क्लबलाई लगातार तीन सेटमा पराजित गर्दै उपाधि आफ्नो नाममा गरेको हो। भारतीय खेलाडीसमेत समावेश सभापोखरीविरुद्ध पुलिसले सुरुदेखि नै प्रभावशाली खेल प्रदर्शन गरेको थियो।

प्रतियोगिताको लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्म पुगेको सभापोखरीले निर्णायक खेलमा भने पुलिसको आक्रामक खेललाई रोक्न सकेन।

उपाधिसँगै नेपाल पुलिस क्लबले सात लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ। उपविजेता सभापोखरी भलिबल क्लबले तीन लाख ५० हजार रुपैयाँमा चित्त बुझाएको छ।

प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लब तेस्रो भएको छ। तेस्रो स्थानका लागि शनिबार भएको खेलमा एपिएफले भारतको खैरा भलिबल क्लब पन्जाबलाई ३–१ को सेटमा पराजित गरेको हो। एपिएफले खैरामाथि १८–२५, २५–१९, २५–१३ र २५–११ को जित निकाल्यो।

तेस्रो स्थान हासिल गरेको एपिएफले एक लाख ७५ हजार रुपैयाँ पुरस्कार पाएको छ भने चौथो भएको खैरा भलिबल क्लबले ७५ हजार रुपैयाँ सान्त्वना पुरस्कार प्राप्त गरेको छ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी नेपाल पुलिस क्लबका पहल गहतराज घोषित भए। उनले १५ हजार रुपैयाँ पुरस्कार पाए।

यस्तै, विधागत उत्कृष्टतर्फ एपिएफका सरोज बर्देवा उत्कृष्ट स्पाइकर, नेपाल पुलिसका बलराम गुरुङ उत्कृष्ट सेटर, रेशम छन्त्याल उत्कृष्ट सर्भर, सभापोखरीका सिभानसेन भी उत्कृष्ट ब्लकर, सन्तोष राई उत्कृष्ट डिफेन्डर तथा नेपाल पुलिस क्लबका चन्द्र कुँवर उत्कृष्ट प्रशिक्षक घोषित भए। विधागत उत्कृष्ट सबैले जनही आठ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

विजेता टोली तथा उत्कृष्ट खेलाडीलाई लुम्बिनी प्रदेशका युवा तथा खेलकुदमन्त्री रामजी घिमिरे, पूर्वमन्त्री एवं नेकपा एमालेका नेता छविलाल विश्वकर्मा, प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ र विष्णु पन्थी, बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्याल तथा आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यलगायतले पुरस्कार वितरण गरे।

असोज १२ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा नेपालका चार र भारतका तीन गरी सात टोलीले सहभागिता जनाएका थिए।

You may also like