बुटवलमा २ करोड लगानीमा १८ डी चलचित्रघर र ऐनाको भुलभुलैया खुल्दै

by समतल अनलाइन
69Shares

बुटवल । बुटवलमा करिब २ करोड रुपैयाँ लगानीमा १८ डी चलचित्रघर र ऐनाको भुलभुलैया सञ्चालनमा आउने भएको छ। नयाँ तथा फरक किसिमको मनोरञ्जन अनुभव प्रदान गर्ने उद्देश्यले नेक्स्टजेन एडभेन्चर इन्टरटेनमेन्ट प्रालिले बुटवलको मिलनचोकस्थित डेल्टा कम्प्लेक्स रहेको पुरानो स्थानमा मनोरञ्जन केन्द्र सञ्चालनमा ल्याउन लागेको हो।

परियोजनामा प्रकाश भुसाल, दीपक ढकाल, सिद्धार्थविक्रम थापा र सुदीप काफ्लेको संयुक्त लगानी रहेको छ। सञ्चालक दीपक ढकालका अनुसार केन्द्र आगामी कात्तिक १ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउनेछ।

बुटवलमा मनोरञ्जनका नयाँ गतिविधि थप गर्दै स्थानीयसँगै बाह्य पर्यटकलाई समेत आकर्षित गर्ने उद्देश्यले परियोजना अघि बढाइएको ढकालले बताए। उनका अनुसार केन्द्रका मुख्य आकर्षण १८ डी चलचित्रघर र ऐनाको भुलभुलैया हुनेछन्।

१८ डी चलचित्रघरमा चलचित्र हेर्दा पर्दामा देखिने दृश्यसँगै विभिन्न प्रभावको समेत प्रत्यक्ष अनुभूति गर्न सकिनेछ। चलचित्रका दृश्यअनुसार दर्शकले फरक किसिमका प्रभाव अनुभव गर्ने व्यवस्था गरिएको सञ्चालक ढकालले बताए।

त्यस्तै, ऐनाको भुलभुलैयामा चारैतिर ऐनै–ऐनाले बनेको संरचनाभित्र प्रवेश गरी बाटो पहिल्याउँदै अघि बढ्नुपर्ने हुन्छ। यसले आगन्तुकलाई मनोरञ्जनसँगै रोमाञ्चक र फरक अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।

सञ्चालक प्रकाश भुसालले बुटवलमा घुम्न तथा मनोरञ्जनका लागि आउने आन्तरिक पर्यटकका लागि नयाँ गन्तव्य थपिने बताए। यस्ता मनोरञ्जन केन्द्रले स्थानीय क्षेत्रमा आर्थिक गतिविधि बढाउनुका साथै बुटवलको पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने उनको भनाइ छ।

पछिल्लो समय बुटवलमा मनोरञ्जन तथा पर्यटनसँग सम्बन्धित नयाँ व्यवसाय थपिँदै गएका छन्। यही क्रममा सञ्चालनमा आउन लागेको १८ डी चलचित्रघर र ऐनाको भुलभुलैयाले बुटवलको मनोरञ्जन क्षेत्रलाई थप विविध बनाउने अपेक्षा गरिएको छ।

सञ्चालकका अनुसार मनोरञ्जन केन्द्रमा प्रवेशका लागि प्रतिव्यक्ति ३५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।

You may also like