नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० जना घाइते

by समतल अनलाइन
60Shares

नवलपरासि। (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ स्थित एस मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत भएको दुर्घटनामा नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस अनियन्त्रित भई सडकबाट नालामा खसेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनाका बेला बसमा चालकसहित १८ जना सवार थिए। दुर्घटनामा मृत्यु भएकामध्ये जाजरकोटको भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको मात्रै पहिचान खुलेको छ। मृत्यु भएका अन्य पाँच जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको सूचना पाएलगत्तै प्रहरी निरीक्षक थमन सिंह रानाको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले तत्काल उद्धार गरी घाइतेहरूलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा पठाएको जनाएको छ। घाइतेहरूको हाल सोही अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक रानाले जानकारी दिएका छन्।

You may also like