काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसका कारण देशभर आंशिक बदली भएको छ भने बागमती प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बादल लाग्नेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागसँगै देशका तराई क्षेत्रमा आंशिक बदली रहनेछ।
कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
त्यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बादल लाग्नेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागमा भने आंशिक बदली रहनेछ।
देशका तराई भू–भागमा आंशिक बदली रहने र बिहानपख हुस्सु लाग्ने सम्भावना रहेको छ। कोशी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

