साई कृपा गोल्ड चियामा कृत्रिम रङ भेटिएपछि उद्योगका सबै उत्पादन रोक्का

by समतल अनलाइन
34Shares

रुपन्देही । रुपन्देहीमा उत्पादित ‘साई कृपा गोल्ड चिया’ मा अखाद्य कृत्रिम रङ मिसावट भएको पुष्टि भएपछि सरकारले उत्पादक साई कृपा चिया उद्योग प्रालिका अन्य उत्पादनको बिक्री–वितरणसमेत रोक्का गरेको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमनका क्रममा संकलन गरेको चियाको नमुना परीक्षण गर्दा कृत्रिम बाह्य रङ प्रयोग गरिएको भेटिएपछि उद्योगमाथि थप अनुसन्धान अघि बढाएको हो।

विभागका अनुसार गत ८ असोजमा साई कृपा गोल्ड चिया (१ हजार ग्राम) को ब्याच नम्बर ‘८३ डी ०५’ को नमुना प्रयोगशालामा परीक्षण गरिएको थियो। परीक्षणबाट चियामा कृत्रिम बाह्य रङ मिसावट गरी दूषित बनाइएको पुष्टि भएको विभागले जनाएको छ।

प्रयोगशाला परीक्षणको नतिजापछि विभागले उक्त ब्याचको चिया बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको थियो। घटनाबारे थप अनुसन्धान अघि बढाउने क्रममा विभागले उद्योगका अन्य उत्पादनको बिक्री–वितरणसमेत रोक्का गरिएको जानकारी दिएको छ।

विभागले जारी गरेको सूचनामा कृत्रिम बाह्य रङ मिसावट भएको पाइएकाले सम्बन्धित उद्योगका अन्य उत्पादन पनि रोक्का राखेर थप अनुसन्धान भइरहेको उल्लेख छ।

यस घटनापछि विभागले देशभरका चिया उत्पादक, प्रशोधनकर्ता, प्याकेजिङकर्ता तथा बिक्री–वितरणमा संलग्न व्यवसायीलाई चियामा कृत्रिम बाह्य रङ वा अन्य कुनै पनि किसिमको मिसावट नगर्न र नगराउन सचेत गराएको छ।

उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने अखाद्य पदार्थ मिसावट गरेको पाइएमा ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ बमोजिम कडा कारबाही गरिने विभागले चेतावनी दिएको छ।

You may also like