काठमाडौं । गत असोज ८ गतेदेखि परेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी देशभर ३१ जनाको मृत्यु भएको छ। विपद्मा परी १२ जना बेपत्ता भएका छन् भने १ हजार ६०४ जनाको उद्धार गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ।
विपद्मा गण्डकीमा सबैभन्दा बढी २० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। यसैगरी लुम्बिनीमा ५, बागमतीमा ३, कर्णालीमा २ र मधेसमा १ जनाको मृत्यु भएको छ।
यस्तै विपद्मा ८ जना घाइते भएका छन्। बाढीपहिरोले १६८ घर, २० गोठ, ४ पुल, एक विद्यालय र दुई सरकारी कार्यालयमा क्षति पुर्याएको छ। ११३ पशुचौपाया मरेका छन् भने २ हजार ३२२ परिवार विस्थापित भएका छन्।
वर्षा केही कम भएपनि बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकखण्ड अझै अवरुद्ध छन्।
कान्ति लोकपथ, पृथ्वी राजमार्गका धादिङ र तनहुँका विभिन्न खण्ड, रसुवा–नुवाकोटका मुख्य राजमार्ग, हेटौंडा–भैंसे–भीमफेदी–फाखेल–काठमाडौं सडक, नारायणगढ–मुग्लिङ, मध्यपहाडी लोकमार्गका विभिन्न खण्ड, कालीगण्डकी करिडोर, चामे–बेँसीसहर, बेनी–जोमसोम, जोमसोम–कोरोला, कर्णाली राजमार्ग, कर्णाली करिडोर, भेरी करिडोर र महाकाली राजमार्गलगायत सडक पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।
पृथ्वी राजमार्गको कृष्णभीर, मध्यपहाडी लोकमार्गको पर्वत तामादी खोला र बीपी राजमार्गको काभ्रे खण्ड भने एकतर्फी सञ्चालनमा आएका छन्। सिद्धिचरण लोकमार्ग, मध्यपहाडी लोकमार्गको भोजपुर खण्ड र टोखा–छहरे सडकमा भने रातिको आवतजावत रोकिएको छ।
प्रहरीले स्थानीय तह तथा अन्य निकायसँगको समन्वयमा अवरुद्ध सडक खुलाउन र पहिरो पन्छाउन उपकरणसहित टोली परिचालन गरेको जनाएको छ। यात्रामा निस्कनुअघि सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले आग्रह गरेको छ।

