विपद्को समयमा रगतको अभाव नहोस् भन्दै उद्योग व्यापार संघको रक्तदान, ७९ पिन्ट रगत संकलन

by समतल अनलाइन
23Shares

बुटवल । उद्योग व्यापार संघ बुटवलले आयोजना गरेको रक्तदान कार्यक्रममा ७९ पिन्ट रगत संकलन भएको छ ।

बाढी, पहिरो लगायतका प्राकृतिक विपत्तिका कारण उपचारका लागि आवश्यक रगतको अभाव हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै संघले सोमबार रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

रक्त सञ्चार केन्द्र बुटवलमा आयोजित कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य, साधारण सदस्य, सल्लाहकार तथा शुभेच्छुकहरूले रक्तदान गरेका थिए । संघका महासचिव विजय आचार्यले विपद्का समयमा रगतको आवश्यकता बढ्न सक्ने भएकाले त्यसलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको बताए ।

कार्यक्रममा बोल्दै उद्योग व्यापार संघका केन्द्रीय अध्यक्ष खिमनारायण पराजुलीले निजी क्षेत्रको भूमिका उद्यम तथा व्यवसाय सञ्चालन, रोजगारी सिर्जना र राज्यलाई कर तिर्नेमात्र नभई सामाजिक सेवामा समेत महत्वपूर्ण रहेको बताए । उनले रक्तदानजस्ता मानवीय कार्यमा निजी क्षेत्रको सहभागिता आवश्यक रहेको उल्लेख गरे ।

संघका अध्यक्ष लोकनाथ पन्थीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको बताए । रगतको अभावका कारण कसैको उपचार प्रभावित नहोस् र रगत नपाएर कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ ।

केशव पौडेलको संयोजनमा भएको कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष पदम जीसी, उपाध्यक्ष केशव श्रीषलगायतको उपस्थिति रहेको थियो ।

You may also like