काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ। देशभर मनसुनी वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको महाशाखाले जनाएको छ।
हाल कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश हिमाली भू–भागमा सामान्यतया बादल लागेको छ। पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
त्यसैगरी, सुदूरपश्चिम प्रदेशको तराई भू–भागका थोरै स्थान तथा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
आज राति देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा समेत आंशिक बदली रहनेछ भने बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।
रातिको समयमा देशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

