पश्चिम नेपालमा भारी वर्षा, बाढी–पहिरोको जोखिम उच्च

by समतल अनलाइन
6Shares

काठमाडौँ । नेपालको पश्चिमी भूभागमा भारीदेखि धेरै भारी वर्षा भइरहेकाले बाढी र पहिरोको जोखिम बढेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले पश्चिमी क्षेत्रमा वर्षा अझै जारी रहने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ। पूर्वी भूभागमा भने मौसम क्रमिक रूपमा सुधार हुँदै गएको छ।

मौसमविद् रोजन लामिछानेका अनुसार पछिल्लो २४ घण्टामा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका अधिकांश स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको छ। यस अवधिमा सबैभन्दा बढी पाल्पाको अर्चले मौसम मापन केन्द्रमा २०८ मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको छ।

महाशाखाका अनुसार १५० मिलिमिटरभन्दा बढी वर्षालाई अति भारी वर्षा मानिन्छ। यसैगरी कोशी प्रदेशको सोलुखुम्बु आसपास तथा बागमती प्रदेशका काभ्रे, सिन्धुपाल्चोक र रसुवा आसपासका क्षेत्रमा पनि भारी वर्षा भएको छ। देशका अन्य भूभागमा भने हल्कादेखि मध्यम वर्षा भएको छ।

हाल लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। कोशी र मधेस प्रदेशका तराई क्षेत्रमा भने अहिले वर्षा रोकिएको छ। ती क्षेत्रमा घाम लाग्ने तथा बादल लाग्ने क्रम जारी रहेको महाशाखाले जनाएको छ।

नेपालमा हाल भारतको मध्य प्रदेश र उत्तर प्रदेश आसपास विकसित न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा उक्त प्रणालीमार्फत पश्चिमी क्षेत्रमा केन्द्रित हुँदा नेपालका पश्चिमी भूभागमा बढी वर्षा भएको मौसमविद् लामिछानेले बताएका छन्।

उक्त प्रणाली क्रमशः पश्चिमतर्फ सर्दै कमजोर हुने क्रममा रहे पनि आज र भोलिसम्म पश्चिमी क्षेत्रमा यसको प्रभाव रहने पूर्वानुमान गरिएको छ।

शनिबार दिउँसो र राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने तथा ५० देखि ८० प्रतिशत भूभागमा भारी वर्षा हुनसक्ने सम्भावना रहेको छ। भोलिसम्म यी प्रदेशका केही स्थानमा वर्षा कायम रहनेछ।

पूर्वी भूभागका कोशी, मधेस र बागमती प्रदेश तथा गण्डकी प्रदेशका तराई क्षेत्रमा भने मौसम क्रमशः सुधार हुँदै जाने महाशाखाको पूर्वानुमान छ। भोलि रातिदेखि मौसममा थप सुधार आउने र पर्सिदेखि पहाडी भूभागका थोरै स्थानमा मात्र हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

आउँदो सोमबारदेखि देशभरको मौसम सामान्यतया सफा रहने तथा कतैकतै वर्षा भए पनि त्यसको प्रभाव ठूलो नहुने महाशाखाले जनाएको छ।

पश्चिमी क्षेत्रमा लगातार भारी वर्षाको सम्भावना रहेकाले महाशाखाले जोखिमको अवस्थाअनुसार ‘सुन्तला’ र ‘रातो’ रङको चेतावनी जारी गरेको छ। रातो रङले बाढी तथा पहिरोको जोखिम अत्यधिक रहेको जनाउँछ भने पूर्वी क्षेत्रमा वर्षा कम हुँदै गएकाले ‘पहेँलो’ रङको सतर्कता दिइएको छ।

भोलि ११ गतेसम्म पश्चिमी क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो, डुबान तथा कटानको जोखिम उच्च रहेको महाशाखाले जनाएको छ। मौसमविद् लामिछानेले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने सर्वसाधारण तथा सम्बन्धित निकायलाई आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन आग्रह गरेका छन्।

You may also like