26
बुटवल । बुटवलको आकाशमा आज प्याराग्लाइडिङको १४ पटक सफल परीक्षण उडान तथा अवतरण गरिएको छ।
नुवाकोटको चुरे पहाडबाट उडान सुरु गरी बुटवल बजारको परिक्रमा गर्दै बडेल पोखरी क्षेत्रमा अवतरण गरिएको हो।
लुम्बिनी इगल आई एड्भेन्चर प्रालिका अध्यक्ष डा. किशन थापाका अनुसार सात जना पाइलटले प्याराग्लाइडिङमार्फत १४ पटकसम्म सफल उडान तथा अवतरण गरेका छन्।
स्याङ्जास्थित बाबु एड्भेन्चर प्याराग्लाइडिङ प्रालिको प्राविधिक सहयोगमा परीक्षण उडान गरिएको हो। परीक्षण सफल भएपछि अब केही समयभित्रै बुटवलमा व्यावसायिक प्याराग्लाइडिङ उडान सुरु गरिने अध्यक्ष थापाले बताए।
बुटवलमा प्याराग्लाइडिङ सञ्चालनमा आएपछि यहाँको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।

