पाल्पा । पाल्पामा यात्रुवाहक गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
तानसेन नगरपालिका–८, भालेबासस्थित सिद्धार्थ राजमार्गमा आइतबार बुटवलबाट तानसेनतर्फ जाँदै गरेको भे १ ज ९७६ नम्बरको फोर्स गाडी अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो।
दुर्घटनामा पूर्वखोला गाउँपालिका–४ निवासी ६३ वर्षीया अनसरा खाम्चाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएकी खाम्चाको लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचारका क्रममा मृत्यु भएको हो।
दुर्घटनामा घाइते पाँचै जनाको अवस्था मध्यम रहेको बताइएको छ। उनीहरूलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज, प्रभास पठाइएको थियो।
घाइते हुनेमा गाडी चालक पूर्वखोला गाउँपालिका–१ का करिब २९ वर्षीय नरबहादुर राना, सोही स्थानका ५० वर्षीय कृष्णबहादुर राजमगर, पूर्वखोला गाउँपालिका–४ घर भई हाल तानसेन नगरपालिका–४ भगवतीटोल बस्ने २८ वर्षीया मेनुका भनिने मनकुमारी सारु, उनकी ७ वर्षीया छोरी साहिरस सारु र मृतक अनसरा खाम्चाकी ५ वर्षीया नातिनी सायरा खाम्चा रहेका छन्।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

