काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान जारी भएलगत्तै मुलुकले भोगेको नाकाबन्दीजस्तो कठिन परिस्थितिले संविधानको रक्षा र राष्ट्रिय एकताका लागि प्रेरित गरेको स्मरण गरेका छन्।
१२औँ संविधान दिवसका अवसरमा शनिबार जारी गरेको प्रेस वक्तव्यमा ओलीले संविधान जारी गर्ने क्रममा नेपाल राष्ट्र र नेपाली जनताले ठूलो मूल्य चुकाउनुपरेको बताएका छन्।
उनले भनेका छन्, ‘संविधान जारी भएपछि मुलुकले नाकाबन्दीजस्तो अत्यन्त ठूलो कठिनाइ सामना गर्नुपर्यो, जसले हामीलाई यस संविधानको रक्षा र संविधानमा एकताबद्ध हुन प्रेरित गर्दछ।’
ओलीले संविधान निर्माणका कठिन घडी सामना गर्दै एमाले नेतृत्वको सरकारले छोटो समयमै कानुन निर्माण र संरचनात्मक विकासमार्फत संविधान कार्यान्वयनको चरणमा लगेको दाबी गरेका छन्।
‘अत्यन्त छोटो समयमा हाम्रो पार्टी नेतृत्वको सरकारले यस संविधानलाई सफलतापूर्वक कानुन निर्माण र संरचनात्मक विकासमार्फत कार्यान्वयनको चरणमा लगेको थियो,’ उनले वक्तव्यमा भनेका छन्।
संविधानले परिकल्पना गरेका विकास निर्माणका कामलाई समेत बहुआयामिक रूपमा अघि बढाइएको उनको दाबी छ।
ओलीले नेपालको संविधान नेपाली जनताको दशकौँ लामो बलिदानीपूर्ण संघर्षको जगमा जननिर्वाचित संविधानसभाबाट बनेको पहिलो ऐतिहासिक संविधान भएको बताएका छन्। उनका अनुसार संविधान जनताको प्रत्यक्ष सहभागिता र स्वामित्वमा निर्माण भएको हो।
प्रमुख दलहरूबीचको समझदारीमा अनेकौँ प्रतिकूलता र चुनौती चिर्दै संविधान जारी गर्न सफल भएको उनले उल्लेख गरेका छन्। ओलीले संविधानले गणतन्त्रलाई संस्थागत गर्दै नेपाली जनतालाई सार्वभौमसत्तासम्पन्न बनाएको तथा संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको शासन प्रणाली स्थापित गरेको बताएका छन्।
‘यसै संविधानले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यका रूपमा संस्थागत गरेको छ, जहाँ सरकारका तीन तह–संघ, प्रदेश र स्थानीय तहबीच अधिकारको स्पष्ट बाँडफाँड गरिएको छ,’ उनले भनेका छन्।
राज्यका सबै अंगमा समानुपातिक, समावेशी र सहभागितामूलक प्रणालीलाई संविधानले आत्मसात गरेको पनि ओलीले उल्लेख गरेका छन्।
नागरिक स्वतन्त्रता, शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य सम्प्रभुता र आवासलगायत ३१ वटा मौलिक हक संविधानले सुनिश्चित गरेको उल्लेख गर्दै उनले मौलिक अधिकारको पूर्ण प्रत्याभूतिका लागि राज्य बलियो र समृद्ध हुनुपर्ने बताएका छन्।
संविधानले प्रत्याभूत गरेका मौलिक हकलाई व्यवहारमा कार्यान्वयन गर्न सक्ने सामर्थ्य निर्माण गर्दै समाजवादको दिशामा अघि बढ्ने संकल्पसहित एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’लाई राष्ट्रिय गन्तव्य निर्धारण गरेको उनले बताएका छन्।
‘संविधान र लोकतन्त्रमाथि गम्भीर संकट’
ओलीले गत वर्ष राज्यका प्रमुख धरोहरमाथि भएको विध्वंसकारी आक्रमणपछि संविधान, संवैधानिक व्यवस्था र लोकतन्त्रमाथि गम्भीर संकट पैदा भएको दाबी गरेका छन्।
‘संविधान, संवैधानिक व्यवस्था र लोकतन्त्रमाथि नै गम्भीर संकट पैदा गरिएको छ,’ उनले वक्तव्यमा भनेका छन्।
वर्तमान सरकार संविधान र कानुनी राज्यको मान्यताविपरीत स्वेच्छाचारी ढंगले अघि बढिरहेको आरोप लगाउँदै ओलीले राज्यका संवैधानिक तथा संस्थागत संरचनामाथि हस्तक्षेप भइरहेको दाबी गरेका छन्।
‘राज्यका संवैधानिक र संस्थागत संरचनालाई स्वेच्छाचारिताको बुटले कुल्चिइरहेको छ,’ ओलीले भनेका छन्।
राज्यका विभिन्न अंगमा ‘गैरराजनीतिक’ र ‘प्रोफेसनल’ व्यक्ति चयन गर्ने नाममा थप राजनीतिकरण गरिएको आरोपसमेत उनले लगाएका छन्।
राजनीतिक नियुक्तिमा ‘जान्नेलाई छान्ने होइन, मान्यलाई छान्ने नीति बनाएर स्वेच्छाचारी ढंगले अन्धाधुन्ध राजनीतिक नियुक्ति दिने काम भइरहेको’ ओलीको आरोप छ।
‘नेपाललाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बनाइँदै’
ओलीले वर्तमान सरकारले नेपाललाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउने गरी बाह्य शक्तिकेन्द्रको स्वार्थअनुरूप काम गरिरहेको आरोप लगाएका छन्।
‘वर्तमान सरकारले नेपाल राज्यलाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउनेगरी बाह्य शक्तिकेन्द्रको गोटी बनेर उनीहरूको स्वार्थअनुरूप काम गरिरहेको अनुभूति भइरहेको छ,’ उनले भनेका छन्।
यस्तो परिस्थितिबाट मुलुकलाई जोगाउन संविधानका पक्षधर शक्तिहरू एक ठाउँमा उभिनुपर्नेमा ओलीले जोड दिएका छन्।
उनले आह्वान गरेका छन्, ‘मुलुकलाई यस्तो परिस्थितिबाट जोगाउन संविधानका पक्षधर शक्तिहरू एक ठाउँमा उभिएर संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नुपर्ने भएको छ।’

