पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई मासिक झन्डै २ अर्ब घाटा

by समतल अनलाइन
17Shares

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको हाल कायम रहेको खुद्रा बिक्री मूल्यलाई यथावत राख्ने निर्णय गरेको छ।

भारतीय आयल कर्पोरेशन (आईओसी) बाट प्राप्त पछिल्लो मूल्यसूचीअनुसार पेट्रोलको खरिद मूल्य प्रतिलिटर १२ रुपैयाँ ४० पैसा र डिजेलको ४ रुपैयाँ ६८ पैसा बढेर आएको भए पनि निगमले तत्काल मूल्य नबढाउने निर्णय गरेको हो।

निगमका अनुसार भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण उत्पन्न विषम परिस्थितिलाई ध्यानमा राख्दै सञ्चालक समितिको निर्णयअनुसार पेट्रोलियम पदार्थको साविककै मूल्य कायम गरिएको हो।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको अवस्थामा सोहीअनुसार स्वचालित मूल्य प्रणालीमार्फत समायोजन गर्न नसक्दा निगममाथि आर्थिक भार थपिँदै गएको जनाइएको छ।

निगमका अनुसार हाल पेट्रोलियम पदार्थको बिक्रीबाट मात्रै मासिक १ अर्ब ९१ करोड ६९ लाख रुपैयाँ घाटा भइरहेको छ।

पछिल्ला केही महिनादेखि मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा असामान्य उतारचढाव देखिएको निगमले जनाएको छ। यही कारण स्वचालित मूल्य प्रणालीअनुसार नियमित रूपमा मूल्य समायोजन गर्न कठिन भइरहेको निगमको भनाइ छ।

निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भइरहे पनि उपभोक्तामाथि तत्काल थप भार नपरोस् भन्ने उद्देश्यले हाललाई पुरानै मूल्य कायम राखेको जनाएको छ।

You may also like