आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुन सक्ने

by समतल अनलाइन
16Shares

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर स्थान आसपास तथा पश्चिमी क्षेत्रमा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको महाशाखाले जनाएको छ।

हाल कोशी, मधेस र बागमती प्रदेशमा सामान्यतया बदली रहेको छ भने अन्य पहाडी भूभागमा आंशिक बदली देखिएको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने मौसम मुख्यतः सफा रहेको छ। यसैबीच कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेस प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज देशभर सामान्यतया बदली रहनेछ। कोशी र बागमती प्रदेशका हिमाली भूभागका केही स्थान तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ।

त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाले कोशी प्रदेशका हिमाली, पहाडी तथा तराई भूभागका साथै बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने जनाएको छ। भारी वर्षाको सम्भावना भएका क्षेत्रमा आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले आग्रह गरेको छ।

You may also like