सप्तऋषिको पूजा आराधनासँगै बुटवलमा मनाइयो ऋषि पञ्चमी

by समतल अनलाइन
47Shares

बुटवल । भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी पर्व बुटवलसहित देशभर श्रद्धा र भक्तिभावका साथ मनाइएको छ। यस अवसरमा बुटवल उपमहानगरपालिका–७ हिलपार्कस्थित सप्तऋषि धाममा पनि विशेष पूजाआजा गरिएको छ।

ऋषि पञ्चमीका अवसरमा महिलाहरूले बिहान स्नान गरी अरुन्धतीसहित सप्तऋषिको विधिपूर्वक पूजा आराधना गरेका छन्। सप्तऋषि धाममा पनि बिहानैदेखि पूजाआजा तथा दर्शनका लागि श्रद्धालु महिलाहरूको सहभागिता रहेको थियो।

धार्मिक मान्यताअनुसार रजस्वलाका समयमा जानी–नजानी भएका त्रुटि तथा छुइछाइबाट मुक्तिका लागि ऋषि पञ्चमीका दिन अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने परम्परा छ।

यस दिन महिलाहरूले ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गोबर, माटो तथा खरानी लगाएर स्नान गर्ने र त्यसपछि सप्तऋषिको पूजा गर्ने चलन छ। पूजा सम्पन्न गरेपछि सामा, कागुनो, कन्दमूल, कर्कलालगायत नरोपी उम्रेका अन्न तथा फलफूल सेवन गरी एक छाक हविष्य बस्ने परम्परा पनि रहेको छ।

ऋषि पञ्चमीसँगै चार दिनसम्म मनाइँदै आएको तीज पर्वसमेत आजबाट औपचारिक रूपमा समापन भएको छ। तीजको अन्तिम दिनका रूपमा समेत लिइने ऋषि पञ्चमीमा देशभरका ऋषेश्वर तथा सप्तऋषि मन्दिरमा श्रद्धालुहरूको उल्लेख्य उपस्थिति रहेको छ।

You may also like