खोटाङ । खोटाङमा बाँदर धपाउन चलाइएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ५४ वर्षीय भलबहादुर तामाङले बाँदर धपाउने क्रममा चलाएको बन्दुकको गोली लागेर सोही ठाउँका ५३ वर्षीय श्यामबहादुर तामाङको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार गोली लागेका श्यामबहादुरको घटनास्थलमै मृत्यु भएको हो। उनको टाउकोमा गोली लागेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार भलबहादुरले बाँदर ठानेर बन्दुक चलाउँदा सँगै गएका श्यामबहादुरलाई गोली लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। मृतक श्यामबहादुर भलबहादुरका काकाका छोरा हुन्।
भलबहादुरलाई अस्थायी प्रहरी पोस्ट खार्मीबाट खटिएको प्रहरी टोलीले भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक निराजन बस्नेतको कमान्डमा सोधपुछसहित ६ जनाको टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

