पाल्पा । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित माथिल्लो सिद्धबाबा मन्दिर नजिक सडक माथिबाट अचानक ढुंगा खस्दा कारमा सवार दुई जना घाइते भएका छन्।
मंगलबार साँझ करिब ६ः३५ बजे पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको बा २० च ३९९९ नम्बरको कारमाथि ढुंगा खसेर लाग्दा कार पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ। कारमा चालकसहित तीन जना सवार थिए।
ढुंगा लागेर कारमा सवार रुपन्देहीको बुटवल उपमहानगरपालिका–७ दिपनगर (क) लाइनकी ३७ वर्षीया जुलन गैरे र बुटवलको जेसिज चोक बस्ने ६२ वर्षीया राधिका ढकाल घाइते भएका छन्। दुवैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घाइतेलाई उपचारका लागि बुटवल पठाइएको छ।
कार चालक रुपन्देहीको शुद्धोधन गाउँपालिका–२ कोलुवाका ३६ वर्षीय राजकुमार लोध भने सकुशल रहेका छन्।
घटनापछि प्रहरी चौकी दोभान, पाल्पाबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। सडकमा खसेको ढुंगा हटाएर अहिले राजमार्गमा सवारी आवागमन पुनः सञ्चालनमा आएको प्रहरीले जनाएको छ।
सिद्धबाबा क्षेत्रमा सडक माथिबाट ढुंगा खस्ने जोखिम कायमै रहेकाले प्रहरीले यात्रु तथा सवारी चालकलाई सावधानी अपनाएर यात्रा गर्न आग्रह गरेको छ।

