भोटेकोशी बाढी प्रभावित बालबालिकाको दीर्घकालीन स्याहार सरकारले लिने

by समतल अनलाइन
36Shares

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले भोटेकोशी बाढीका कारण अभिभावक गुमाएका, परिवारबाट छुट्टिएका तथा विशेष संरक्षण आवश्यक भएका बालबालिकाको दीर्घकालीन स्याहारको जिम्मेवारी सरकारले लिने बताएकी छन् ।

राष्ट्रिय बाल दिवस २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री वादीले बाढीका कारण धेरै परिवार प्रभावित भएको र कतिपय बालबालिकाले आफ्ना प्रियजन गुमाउनुका साथै घाइते भएर उपचार गराइरहेको बताइन् ।

उनका अनुसार विपद्मा परिवारबाट छुट्टिएका तथा संरक्षणको पर्खाइमा रहेका बालबालिकाको उद्धार, संरक्षण, स्वास्थ्य उपचार, मनोसामाजिक सहयोग, परिवारको खोजी तथा पुनर्मिलनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ ।

“बालबालिका राष्ट्रका भविष्य हुन् । विपद्मा अभिभावक गुमाएका, परिवारबाट छुट्टिएका तथा विशेष संरक्षण आवश्यक भएका बालबालिकाको उद्धार, उपचार, मनोसामाजिक सहयोग, परिवार खोजी तथा पुनर्मिलनका लागि सरकार उच्च प्राथमिकताका साथ कार्यरत छ । त्यस्ता बालबालिकाको दीर्घकालीन संरक्षणको जिम्मेवारी सरकारले लिनेछ”, मन्त्री वादीले भनिन् ।

मन्त्री वादीका अनुसार ललितपुरको गोदावरी नगरपालिका–थेचोमा विशेष संरक्षण आवश्यक भएका बालबालिकाका लागि अस्थायी संरक्षण सेवा केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको छ । केन्द्रबाट बालबालिकालाई आवास, खानपिन, स्वास्थ्य उपचार, मनोसामाजिक सहयोग, परिवारको खोजी तथा पारिवारिक पुनर्मिलनलगायत सेवा उपलब्ध गराइनेछ ।

त्यसैगरी, बालबालिकाको दीर्घकालीन संरक्षण आवश्यकताको पहिचान गरी उनीहरूको अवस्थाअनुसार उपयुक्त व्यवस्था गरिने उनले बताइन् ।

बाढी प्रभावित क्षेत्र तथा होल्डिङ सेन्टरमा रहेका बालबालिकाको गोपनीयता, मर्यादा र सुरक्षालाई विशेष प्राथमिकता दिइएको मन्त्री वादीले बताइन् । प्रभावित जिल्लाका स्थानीय तह तथा बालबालिका राखिएका स्थानमा उनीहरूको अवस्था, पहिचान र विस्तृत लेखाजोखा गरी आवश्यक संरक्षण सेवा उपलब्ध गराउन सहजीकरण टोली परिचालन गरिएको उनले जानकारी दिइन् ।

विपद्मा आमाबुवा गुमाएका तथा विशेष संरक्षण आवश्यक भएका बालबालिकाका लागि सरकारले दीर्घकालीन स्याहार योजना कार्यक्रमसमेत कार्यान्वयनमा ल्याएको मन्त्री वादीले बताइन् । कुनै पनि बालबालिकाले आफूलाई एक्लो वा असुरक्षित महसुस गर्नुपर्ने अवस्था आउन नदिने उनको प्रतिबद्धता छ ।

“यस वर्ष भोटेकोशी बाढीका कारण हामी पीडादायी परिस्थितिमा यो दिवस मनाइरहेका छौँ । बाढी तथा विपद्का कारण ज्यान गुमाउनुभएका बालबालिकाप्रति भावपूर्ण श्रद्धाञ्जली तथा घाइते बालबालिकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु”, उनले भनिन् ।

बालबालिकालाई हिंसा, दुर्व्यवहार, शोषण, बेचबिखन तथा असुरक्षाबाट जोगाउनु सरकारको मात्र नभई परिवार, विद्यालय, समुदाय, सञ्चारमाध्यम, नागरिक समाज, निजी क्षेत्र तथा बाल अधिकारका क्षेत्रमा कार्यरत संघसंस्थाको समेत साझा दायित्व भएको मन्त्री वादीले बताइन् ।

“बालबालिकालाई हिंसा, दुर्व्यवहार, शोषण, बेचबिखन र असुरक्षाबाट जोगाउनु हामी सबैको साझा दायित्व हो । यसका लागि सरकार, परिवार, विद्यालय, समुदाय र सम्बन्धित सबै पक्षबीच सहकार्य आवश्यक छ”, उनले भनिन् ।

मन्त्री वादीले समस्यामा परेका वा हिंसा, दुर्व्यवहार तथा जोखिममा रहेका बालबालिकालाई चुप नबस्न आग्रह गर्दै आवश्यक सहयोगका लागि सम्बन्धित निकायमा सम्पर्क गर्न अपिल गरेकी छन् ।

उनले जोखिममा परेका बालबालिकालाई निःशुल्क बाल हेल्पलाइन १०९८ तथा बालबालिका खोजतलास केन्द्र १०४ मा सम्पर्क गर्न आग्रह गरिन् ।

“प्रिय बालबालिका भाइबहिनीहरू, तपाईंहरू एक्लो हुनुहुन्न । कुनै समस्या वा जोखिममा पर्नुभएको छ भने निःशुल्क बाल हेल्पलाइन १०९८ वा बालबालिका खोजतलास केन्द्र १०४ मा सम्पर्क गर्नुहोस्”, उनले भनिन् ।

राष्ट्रिय बाल दिवस २०८३ को ‘बालपनको रक्षा, भविष्यको सुरक्षा’ भन्ने नारालाई व्यवहारमा उतार्न सबै पक्षले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा मन्त्री वादीले जोड दिइन् ।

सुरक्षित, स्वस्थ र सम्मानित बालबालिकाको भविष्य निर्माणका लागि सरकारसँगै परिवार, विद्यालय, समुदाय तथा सम्बन्धित सबै पक्ष प्रतिबद्ध भएर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

You may also like