एशिया कपमा छनोट हुनु नेपाली क्रिकेटका लागि ठूलो उपलब्धि : पारस खड्का

by समतल अनलाइन
48Shares

काठमाडौं । क्रिकेट एशोसिएशन नेपाल (क्यान) का सचिव पारस खड्काले एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एशिया कपमा छनोट हुनु नेपाली क्रिकेटका लागि ठूलो उपलब्धि भएको बताएका छन् ।

एसीसी प्रिमियर कपको उपाधि जितेर आइतबार राति स्वदेश फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिँदै खड्काले युवा खेलाडीले गरेको प्रदर्शन प्रशंसनीय रहेको बताए ।

उनले अर्जुन कुमाल, शेर मल्ललगायत युवा खेलाडीको प्रदर्शनले नेपाली क्रिकेटको भविष्यप्रति आशा जगाएको उल्लेख गरे । क्रिकेट टिम स्पोर्ट भएकाले जित्दा सबै कुरा राम्रो देखिने र हार्दा स्वाभाविक रूपमा आलोचना हुने भए पनि समग्रमा नेपाली टोलीले राम्रो गरिरहेको उनको भनाइ छ ।

यद्यपि नेपालको एकदिवसीय (ओडीआई) संरचना र फम्र्याटमा थप मेहनत गर्नुपर्ने आवश्यकता रहेको खड्काले औँल्याए ।

उनका अनुसार अहिलेका लागि एशिया कपमा छनोट हुनु टोलीको मनोबल बढाउने महत्वपूर्ण उपलब्धि हो । “अहिले हामीले सकारात्मक पक्षबारे कुरा गर्नुपर्छ । नेपालभन्दा बाहिर गएर प्रतियोगिता जित्नु हाम्रा लागि ठूलो उपलब्धि हो”, उनले भने ।

एशियन क्रिकेट काउन्सिल (एसीसी) अन्तर्गतका विभिन्न टोलीसँग प्रतिस्पर्धा गर्नु सहज नभए पनि नेपालले समग्र टिम प्रदर्शन सुधार गर्दै उपाधि जित्न सफल भएको खड्काले बताए ।

देश पछिल्लो समय कठिन परिस्थितिबाट गुज्रिरहेका बेला क्रिकेटले नेपालीमा खुशी ल्याउन सकेको उल्लेख गर्दै उनले क्रिकेटमार्फत राष्ट्रलाई जोड्ने अभियानमा क्यान लागिरहेको बताए ।

आगामी ७–८ महिनाको तालिका तयार

एशिया कपको तयारीबारे खड्काले नेपाली क्रिकेट टोलीको आगामी ७–८ महिनाको तालिका तथा अर्को वर्षसम्मका कार्यक्रम तयार भइसकेको जानकारी दिए ।

उनका अनुसार नेपाली टोलीले अब एशियन गेम्स, क्रिकेट विश्वकप (सीडब्लुसी), नेपाल प्रिमियर लिग (एनपीएल) लगायत प्रतियोगितामा सहभागिता जनाउनेछ । एशियन गेम्समा पदक जित्नु महत्वपूर्ण लक्ष्य रहेको उनले बताए ।

यसअघि एशियन गेम्समा नेपाल पदकको निकै नजिक पुगेको स्मरण गर्दै खड्काले आगामी संस्करणमा अझ राम्रो प्रदर्शन गर्ने अवसर रहेको उल्लेख गरे ।

नेपालको ओडीआई वरीयताका आधारमा विश्वकपको प्लेअफ खेल्ने सम्भावना रहेको र आगामी वर्ष द्विपक्षीय सिरिजका लागि समेत क्यानले पहल गरिरहेको उनले जानकारी दिए ।

“निरन्तर रूपमा क्रिकेट प्रतियोगिता धेरै छन् । प्रतियोगिताअनुसार तयारी गर्दै जानेछौँ र आवश्यक जानकारी सबैलाई गराउँदै जानेछौँ”, उनले भने ।

पछिल्लो सफलताले नेपाली क्रिकेटको आत्मविश्वास बढाएको भन्दै खड्काले आगामी प्रतियोगितामा पनि टोलीले निरन्तर राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।

You may also like