बुटवलको तिनाउमा सिग्नेचर ब्रिज बन्दै, १ अर्ब ७० करोडमा चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता

by समतल अनलाइन
10Shares

बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडक विस्तारसँगै बुटवलस्थित तिनाउ नदीमा आधुनिक ‘सिग्नेचर ब्रिज’ निर्माण हुने भएको छ।

सडक विभागले पुल निर्माणका लागि चिनियाँ कम्पनी एमरएस आन्हुई सिन्जियान होल्डिङ ग्रुपसँग करिब १ अर्ब ७० करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको हो। सम्झौता भएको मितिले तीन वर्षभित्र पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना निर्देशक इन्जिनियर अर्जुनप्रसाद अर्यालले बताएका छन्।

हाल सञ्चालनमा रहेको पुरानो पुलको दुवैतर्फ दुई–दुई लेनका नयाँ पुल निर्माण गरी तिनाउ नदीमा चार लेनको आधुनिक पुल तयार गरिनेछ। नयाँ पुलको लम्बाइ करिब २३० देखि २४० मिटरसम्म हुने जनाइएको छ।

पुलसँगै करिब ९८० मिटर लामो पहुँचमार्गसमेत निर्माण गरिनेछ। सवारीसाधनको सहज आवागमनका लागि पर्याप्त संरचनासँगै पैदलयात्रुका लागि छुट्टै आकर्षक फुटपाथको व्यवस्था गरिनेछ।

सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत चितवनको नारायणी र बुटवलको तिनाउ नदीमा ‘सिग्नेचर ब्रिज’ निर्माण गर्ने योजना अघि सारेको थियो। नारायणीमा पुल निर्माण प्रक्रिया अघि बढिसकेको अवस्थामा तिनाउको समेत ठेक्का सम्झौता हुनु पश्चिम नेपालको पूर्वाधार विकासका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ।

तिनाउमा निर्माण हुने सिग्नेचर ब्रिज करिब ५० किलोमिटर लामो बुटवल–गोरुसिङ्गे सडकलाई चार लेनमा विस्तार गर्ने योजनाको महत्वपूर्ण हिस्सा हो। सडक विस्तारसँगै आधुनिक पुल निर्माण भएपछि पूर्व–पश्चिम राजमार्गमा सवारी आवागमन थप सहज हुने अपेक्षा गरिएको छ।

आकर्षक डिजाइनमा निर्माण हुने पुलले बुटवलको सहरी सौन्दर्य बढाउनुका साथै पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने विश्वास गरिएको छ।

You may also like