त्रिशूलीले बगाएर ल्याएको बैंकको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ

by समतल अनलाइन
75Shares

धादिङ।त्रिशूली नदीले बगाएर ल्याएको बैंकको सेफ (भल्ट) फोडेर रकम निकाल्ने कार्यमा संलग्न भएको आरोपमा २९ जना पक्राउ परेका छन् ।

रसुवा तथा माथिल्लो तटीय क्षेत्रमा आएको बाढीले बगाएर ल्याएको सेफ फोडी गैरकानुनी रूपमा रकम निकाल्ने क्रममा उनीहरूलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका हुन्।

सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले खोज तथा गस्तीका क्रममा उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूको साथबाट ९२ लाख ६८ हजार ५ सय ५ रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार पक्राउ परेका सबै २९ जनालाई जिल्ला प्रहरी कार्यालय धादिङको हिरासतमा राखिएको छ। घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए।

बाढी तथा विपद्को मौका छोपी सरकारी, व्यापारिक तथा निजी सम्पत्तिमा तोडफोड, चोरी र लुटपाट गर्ने गतिविधिविरुद्ध सुरक्षा निकायले निगरानी तथा गस्ती बढाएको जनाएको छ।

You may also like