शव व्यवस्थापनका लागि भारतबाट ६ हजार ब्याग मगाइयो

by समतल अनलाइन
58Shares

काठमाडौँ । चीनको तिब्बततर्फबाट आएको ल्हेन्दे खोलामा बढेको बहावका कारण आएको भोटेकोशी बाढीमा परी अहिलेसम्म ४८९ जनाको मृत्यु भएको छ।

सैनिक, नेपाल प्रहरी र सशस्त्र प्रहरीका उद्धारकर्मीहरूले भोटेकोशीले बगाएर ल्याएका शवहरू नदी तटीय क्षेत्रबाट निरन्तर सङ्कलन गरिरहेका छन्। नुवाकोट, धादिङ, चितवन, गोरखा, नवलपरासी पूर्व, तनहुँ र पश्चिम नवलपरासीका नदी तटमा शव भेटिएका छन्।

बाढीमा परी मृत्यु भएकाहरूको शव व्यवस्थापन गर्न आवश्यक शव ब्यागको समेत अभाव देखिएको छ। शव प्याक गर्न प्रयोग गरिने ब्याग पर्याप्त नभएपछि सरकारले भारतबाट ६ हजार थान ब्याग मगाएको छ।

गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार भारतबाट मगाइएका ६ हजार थान ब्याग शुक्रबार नै नेपाल आइपुग्नेछ।

‘६ हजार थान ब्याग मगाएका छौँ, आज आउँदै छ,’ ती अधिकारीले भने।

यसैबीच, नदी तटमा भेटिएका अधिकांश शवको अझै सनाखत हुन सकेको छैन। सुरक्षा अधिकारीहरूका अनुसार अहिलेसम्म ६ जनाको मात्र शव पहिचान भएको छ। पहिचान भएका शवको पोस्टमार्टमपछि परिवारलाई बुझाइएको छ।

बाढीमा ठूलो संख्यामा मानिस सम्पर्कविहीन रहेकाले थप शव भेटिन सक्ने र शव व्यवस्थापन तथा पहिचानको चुनौती अझै बढ्न सक्ने सुरक्षा निकायले जनाएको छ।

You may also like