बाढी प्रभावित क्षेत्रमा ४२ बेलिब्रिज बनाउन चीन र भारतसँग सरकारको सहयोग माग

by समतल अनलाइन
48Shares

काठमाडौं । सरकारले बाढी प्रभावित क्षेत्रमा आवतजावत सुचारु गर्न चीन र भारतसँग तत्काल ४२ वटा बेलिब्रिज निर्माणका लागि सहयोग माग गरेको छ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार नेपाललाई तत्काल आवश्यक पर्ने बेलिब्रिजको संख्या उल्लेख गर्दै दुवै छिमेकी मुलुकसँग सहयोगका लागि अनुरोध गरिएको हो।

विपद् प्रभावित क्षेत्रमा विदेशी सहयोगलाई विपद् व्यवस्थापन प्राधिकरणको आवश्यकताअनुसार परिचालन गर्ने व्यवस्था मिलाइएको छ। प्राधिकरणले बाढीका कारण अवरुद्ध आवतजावत तत्काल सञ्चालन गर्न ४२ वटा बेलिब्रिज आवश्यक पर्ने आकलन गरेपछि सरकारले चीन र भारतसँग सहयोग मागेको हो।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले बिहीबार नियमित पत्रकार सम्मेलनमा नेपाललाई आवश्यक परेको अवस्थामा बेलिब्रिजलगायतका सामग्रीमा सहयोग गर्ने बताएका थिए।

बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा अधिकांश पुल भत्किएका छन्। पुलहरूमा क्षति पुगेपछि विभिन्न क्षेत्रबीचको आवतजावत पूर्णरूपमा अवरुद्ध भएको छ।

सरकारले तत्काल बेलिब्रिज निर्माण गरी सडक तथा यातायात सम्पर्क पुनःस्थापना गर्ने तयारी गरेको जनाएको छ।

You may also like