बुटवल।स्कलर्स होम बोर्डिङ सेकेन्डरी स्कुलमा वातावरण संरक्षणसम्बन्धी प्रतियोगितात्मक अभियानअन्तर्गत ‘ईन्भारोमेन्ट प्रिमियर लिग बुटवल–२०२६’ को ‘मेयरसँग विद्यार्थी अन्तरक्रिया’ कार्यक्रम सम्पन्न भएको छ।
मैना देवी फाउन्डेसनको आयोजना तथा बुटवल उपमहानगरपालिका र स्थानीय विभिन्न विद्यालय तथा कलेजको सहकार्यमा सञ्चालन भइरहेको वातावरण संरक्षणसम्बन्धी अभियानअन्तर्गत शनिबार स्कलर्स होममा अन्तरक्रिया कार्यक्रम गरिएको हो।

कार्यक्रममा विद्यालयका उप–प्राचार्य टिकाराम गौतमले अभियानको औचित्यमाथि प्रकाश पार्दै वातावरण संरक्षणप्रति युवाहरूमा जिम्मेवारीबोध, सिर्जनात्मक सोच र नेतृत्व विकास गर्न विद्यार्थीलाई सहभागी गराउने उद्देश्यले कार्यक्रम महत्वपूर्ण रहेको बताए।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेसँग विद्यार्थीहरूले वातावरण संरक्षणका क्षेत्रमा उपमहानगरपालिकाबाट भएका काम तथा आगामी रणनीतिबारे प्रश्न तथा जिज्ञासा राखेका थिए। ‘म बदलिन्छु, तब मेरो देश बदलिन्छ’ भन्ने मूल नाराका साथ सुरु भएको अभियानका विषयमा समेत विद्यार्थी र नगरप्रमुखबीच अन्तरक्रिया भएको थियो।
कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. ९ का अध्यक्ष प्रदीपकुमार श्रेष्ठ, बुटवल–९ मा क्रियाशील मुनाल टोल विकास संस्थाका निवर्तमान अध्यक्ष कृष्णप्रसाद भण्डारी, जागरण टोल विकास संस्थाका अध्यक्ष मञ्जु कुँवर, प्लस टु संयोजक चेतनारायण पन्थी, प्राध्यापक जीवन पाण्डे, संयोजक सुरेन्द्र थापा क्षेत्री, विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख मनुकान्त क्षेत्री, सिर्जना गौतम, शोभा राना र जयन्ती श्रेष्ठलगायतको सहभागिता रहेको थियो।
उनीहरूले पछिल्लो समय वातावरण संरक्षणप्रति सचेतना बढाउन विद्यालयस्तरमै यस्ता कार्यक्रम आवश्यक रहेको बताउँदै अभियानलाई प्रभावकारी बनाउन सबै पक्षबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।
कार्यक्रममा विद्यार्थी, जनप्रतिनिधि तथा सामाजिक अगुवासहित एक सयभन्दा बढीको सहभागिता रहेको विद्यालयका सूचना विभाग प्रमुख नेत्रप्रसाद भट्टराईले जानकारी दिए।

