रुपन्देहीको शान्ति सुरक्षा र प्रशासनिक सेवा प्रभावकारी बनाउन सहकार्य आवश्यक ः प्रजिअ अर्याल

by समतल अनलाइन
34Shares

बुटवल । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जिल्लाको शान्ति सुरक्षा तथा प्रशासनिक सेवा प्रभावकारी बनाउन सबै पक्षबीच सहकार्य र समन्वय आवश्यक रहेको बताएका छन् । रोटरी क्लब अफ बुटवलको १६२६औँ नियमित बैठकमा बोल्दै प्रजिअ अर्यालले रुपन्देही आर्थिक गतिविधि, व्यापारिक कारोबार र जनघनत्वका हिसाबले महत्वपूर्ण जिल्ला भएकाले प्रशासनिक चुनौती पनि बढी रहेको बताए ।

उनले रुपन्देही खुला सीमा तथा ठूलो व्यापारिक नाका रहेको जिल्ला भएकाले सीमा पारबाट हुने अपराध, आर्थिक गतिविधि तथा व्यापारिक कारोबारसँग जोडिएका सुरक्षा चुनौतीलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्नुपर्ने बताए । अर्यालले रात्रिकालीन व्यवसाय सञ्चालनका विषयमा व्यवसायी र स्थानीय समाजबीच देखिएको अन्तरद्वन्द्वलाई पनि समन्वयमार्फत समाधान गर्नुपर्ने बताए । व्यवसायीले रातभर व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गरिरहँदा त्यसबाट समाजमा पर्न सक्ने प्रभावबारे समेत अध्ययन र छलफल आवश्यक रहेको उनको भनाइ थियो ।

प्रशासन सेवाग्राहीमैत्री हुनुपर्नेमा जोड दिँदै उनले पछिल्लो समय सेवाग्राहीको अपेक्षा र सोचमा परिवर्तन आएको बताए । सेवाग्राहीले तत्काल जवाफ र परिणाम खोज्ने गरेको भन्दै प्रशासनिक प्रक्रियाका कारण केही सेवामा समय लाग्न सक्ने विषय बुझाउन पनि चुनौती रहेको उनले बताए । प्रविधिको विकाससँगै प्रशासनिक सेवा अनलाइन प्रणालीमा लैजानुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै अर्यालले अनलाइन सेवामा समेत विभिन्न समयमा प्राविधिक अवरोध आउने गरेको बताए । प्रशासनमा पारदर्शिता कायम गर्न प्रविधिको अधिकतम प्रयोग आवश्यक रहेको उनको भनाइ थियो । आर्थिक अनियमितताका विषयमा विगतको तुलनामा धेरै सुधार भएको दाबी गर्दै उनले प्रशासन सेवकको भूमिकामा रहेर सेवाग्राहीसँग नजिकको सम्बन्ध स्थापित गर्नुपर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी अर्यालले आफूले गृहमन्त्रालयअन्तर्गत विभिन्न विभागमा १२ वर्ष तथा स्थानीय विकास अधिकारीका रूपमा आठ वर्ष सेवा गरेको जानकारी दिए । उनले २०७१÷७२ मा जिल्ला विकास कार्यालयमा कार्यरत रहेको स्मरण गर्दै लुम्बिनी प्रदेशका चार जिल्लामा सेवा गर्ने अवसर पाएको बताए । रुपन्देहीमा विभिन्न पेशा–व्यवसायमा विशिष्टता हासिल गरेका तथा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरूको ठूलो उपस्थिति रहेको उल्लेख गर्दै उनले जिल्लाको विकास र शान्ति सुरक्षाका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताए ।

कार्यक्रममा क्लबका अध्यक्ष यदुनाथ पाण्डेय, प्रेसिडेन्ट इलेक्ट दया भण्डारी, पीडीजी राजेन्द्र ध्वजु, पूर्वअध्यक्ष अजयमान श्रेष्ठ, कृष्णप्रसाद अर्याल, डिल्लिकुमार श्रेष्ठ तथा मेन्टर हरि पौडेलले रुपन्देहीको शान्ति सुरक्षाको विषयमा जिज्ञासा राखेको थिए ।

You may also like