बुटवल । बुटवल हस्पिटल प्रा.लि.को आयोजनामा सम्पन्न वृहत रक्तदान कार्यक्रममा ५० पाउन्ड रगत संकलन भएको छ। अस्पतालमा उपचारका लागि आउने बिरामी तथा अन्य स्वास्थ्य संस्थाहरूमा आवश्यक पर्ने रगतको सहज उपलब्धता सुनिश्चित गर्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको हो।
नेपाल रेडक्रस सोसाइटी रुपन्देहीको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा अस्पतालका कर्मचारी, शुभेच्छुक तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले उत्साहपूर्वक रक्तदान गरेका थिए। रक्तदान जीवनदान भएकाले सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पतालले नियमित रूपमा यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
कार्यक्रममा बुटवल हस्पिटल प्रा.लि.का अध्यक्ष चुन्नु प्रसाद शर्माले रक्तदान गर्ने सम्पूर्ण दाताहरूप्रति धन्यवाद व्यक्त गर्दै अस्पतालले बिरामीको आवश्यकता र मागअनुसार स्वास्थ्य सेवा तथा सुविधा थप विस्तार गर्दै लैजाने बताउनुभयो।
उहाँले स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यसहित अस्पताल निरन्तर अघि बढिरहेको उल्लेख गर्नुभयो।
बुटवल हस्पिटलका प्रशासन प्रमुख विक्रम खड्काले अस्पतालले प्रत्येक तीन–तीन महिनामा रक्तदान कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो। उहाँले अस्पतालले आर्थिक रूपमा विपन्न तथा असहाय बिरामीलाई विशेष छुटसहित सेवा प्रदान गर्दै आएको पनि बताउनुभयो।
कार्यक्रममा अस्पतालका उपाध्यक्ष ललित प्रसाद खरेल, सचिव मोहन प्रसाद पाण्डे, … बुटवल उपमहानगरपालिका-४ का वडा अध्यक्ष नरेश्वर शर्मा पौडेल, गोकर्ण पौडेल, अस्पतालका महाप्रबन्धक देवेश कर्ण, प्रशासन प्रमुख विक्रम खड्का, सहायक मेट्रोन रश्मिता थपलिया तथा सुमन तिमिल्सिनालगायतको उपस्थिति रहेको थियो।
बुटवल हस्पिटल पछिल्लो समय बुटवल क्षेत्रका बिरामीहरूको प्रमुख रोजाइको स्वास्थ्य संस्थाका रूपमा स्थापित हुँदै गएको छ। दक्ष चिकित्सक, आधुनिक सेवा सुविधा र सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत अस्पतालले समुदायमा आफ्नो भूमिका प्रभावकारी बनाउँदै आएको छ।

