बुटवल । बजारमा खाना पकाउने एलपी ग्यासको अभावबारे गुनासो बढेपछि मंगलबार बुटवल र तिलोत्तमाका ग्यास डिलरमा संयुक्त अनुगमन गरिएको छ।
जिल्ला प्रशासन कार्यालय रुपन्देही, इलाका प्रशासन कार्यालय बुटवल, बुटवल उपमहानगरपालिका, उपभोक्ता हित संरक्षण मञ्च तथा ग्यास विक्रेता संघ रुपन्देहीको संयुक्त टोलीले गरेको अनुगमनमा आपूर्तिको तुलनामा माग अस्वाभाविक रूपमा बढेको पाइएको छ।

इलाका प्रशासन कार्यालय बुटवलका शाखा अधिकृत सागर गौतमका अनुसार ग्यास अभावको हल्लापछि उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिण्डर घरमै भण्डारण गर्न थालेकाले समस्या देखिएको हो। उनले डिलरलाई टोकन प्रणाली लागू गरेर अतिरिक्त भण्डारण हुन नदिने गरी वितरण गर्न सुझाव दिइएको बताए। साथै विद्यार्थी, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, सुत्केरी महिला तथा अन्य संवेदनशील समूहलाई पहिलो प्राथमिकतामा राखेर ग्यास वितरण गर्न आग्रह गरिएको छ।

ग्यास विक्रेता संघ रुपन्देहीका उपाध्यक्ष ज्ञानेन्द्र बन्जाडेका अनुसार विगतमा दैनिक १० देखि १२ हजार सिलिण्डर माग हुने गरेकोमा अहिले करिब २५ हजार सिलिण्डरको माग पुगेको छ। आधा सिलिण्डर वितरण गरिएको अवस्था र ग्यास अभावको अफवाहका कारण उपभोक्ताले एकैपटक बढी ग्यास लिन खोज्दा समस्या उत्पन्न भएको उनले बताए। उनका अनुसार हाल दैनिक करिब १२ हजार सिलिण्डर आपूर्ति भइरहे पनि माग दोब्बर भएकाले असहजता देखिएको हो। यो अवस्था करिब एक साताभित्र सामान्य हुने अपेक्षा गरिएको उनले बताए।
संघले सबै डिलरलाई राष्ट्रसेवक कर्मचारी, विद्यार्थी, अपाङ्गता भएका व्यक्ति, अशक्त, ज्येष्ठ नागरिक तथा क्रियापुत्रीका लागि कम्तीमा पाँच वटा सिलिण्डर आकस्मिक प्रयोजनका लागि छुट्याएर राख्न निर्देशन दिएको जनाएको छ।

मंगलबार बुटवल र तिलोत्तमाका आधा दर्जनभन्दा बढी ग्यास डिलरमा गरिएको अनुगमनका क्रममा केही डिलरले सिलिण्डर लुकाएर राखेको भेटिएपछि तत्काल वितरण गर्न निर्देशन दिइएको छ। अनुगमनमा देखिएका अन्य कमजोरी पनि तत्काल सुधार गर्न निर्देशन दिइएको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष समुद्र जिसीले बताए।

