बुटवल। लुम्बिनीमा पहिलोपटक राष्ट्रियस्तरको ४८ घण्टे ‘लुम्बिनीएक्स’ ह्याकाथन आयोजना हुने भएको छ । यही साउन २३ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने ह्याकाथनबारे आयोजकले सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।
पत्रकार सम्मेलनमा बोल्दै लुम्बिनी सिटी कलेजका सहायक प्राचार्य नारायण प्रसाद भुसालले कलेजका विद्यार्थीहरूको आयोजनामा राष्ट्रियस्तरको प्रविधिमूलक प्रतियोगिता हुन लागेको बताए । उनले यस्ता कार्यक्रमले विद्यार्थीको सिर्जनशीलता, अनुसन्धान क्षमता र नवप्रवर्तनलाई प्रोत्साहन गर्नुका साथै लुम्बिनीलाई प्रविधि र नवप्रवर्तनसँग जोड्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
आयोजकका अनुसार ह्याकाथनको उद्देश्य लुम्बिनीको आध्यात्मिक तथा ऐतिहासिक पहिचानलाई आधुनिक प्रविधिसँग जोड्दै नेपाली युवालाई नवीन सोच विकास गर्न, वास्तविक समस्याको समाधान खोज्न तथा प्रविधिको क्षेत्रमा नयाँ अवसर सिर्जना गर्नु हो। कार्यक्रममार्फत लुम्बिनीलाई आध्यात्मिक केन्द्रसँगै प्रविधि र नवप्रवर्तनको सम्भावना बोकेको गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ ।
कार्यक्रमको आयोजना लुम्बिनी एलिट उपभोक्ता समिति ले गरेको हो, जुन लुम्बिनी सिटी कलेजका १५ जना सक्रिय विद्यार्थीद्वारा गठित टोली हो। कार्यक्रमको मुख्य प्रायोजक लुम्बिनी सिटी कलेज रहेको छ भने ४० भन्दा बढी संस्था तथा समूह साझेदार र सहयोगीका रूपमा आबद्ध छन्। कार्यक्रमको संयोजन आयुष धापागाईं र आविष्कार ढेंगाले गरेका छन् भने निशान्त भुटेल सचिव र आयाम रेग्मी निर्देशक रहेका छन् ।
आयोजकका अनुसार देशभरका विद्यालय, कक्षा १२ तथा स्नातक तहका विद्यार्थीबाट ११८ टोलीको आवेदन परेको थियो। आवेदनमा प्रस्तुत नवीन अवधारणा, टोलीको संरचना, अनुभव तथा अन्य मापदण्डका आधारमा उत्कृष्ट १० टोली छनोट गरिएको छ। आवेदन निःशुल्क रहे पनि छनोट भएका टोलीले सहभागिताका लागि प्रति टोली तीन हजार पाँच सय रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ। हाल छनोट भएका टोलीको सहभागिता पुष्टि गर्ने प्रक्रिया जारी रहेको आयोजकले जनाएको छ ।
कार्यक्रम साउन २३ र २४ गते लुम्बिनी सिटी कलेजमा सञ्चालन हुनेछ। यस अवधिमा सहभागीले सङ्केत लेखन (कोडिङ), अनुसन्धान, डिजाइन तथा परियोजना विकासमा काम गर्नेछन्। अन्तिम दिन साउन २५ गते मायादेवी मन्दिर र सेतो मन्दिर नजिक रहेको लुम्बिनी बौद्ध विश्वविद्यालयको केन्द्रीय कार्यालयमा अन्तिम प्रस्तुति, मूल्याङ्कन, पुरस्कार वितरण तथा समापन कार्यक्रम आयोजना गरिनेछ। सहभागी टोलीलाई तीन दिनका लागि आवास, भोजन, लुम्बिनी भ्रमण तथा आवश्यक व्यवस्थापन गरिने आयोजकले जनाएको छ ।
प्रतिस्पर्धालाई निष्पक्ष बनाउन ह्याकाथनको मुख्य विषय कार्यक्रम सुरु हुनुभन्दा एक दिनअघि मात्र सार्वजनिक गरिनेछ। त्यसपछि सहभागी टोलीले सोही विषयमा आधारित समाधान विकास गर्नुपर्ने व्यवस्था गरिएको छ । आयोजकका अनुसार यसले पूर्वतयार परियोजना प्रस्तुत गर्ने सम्भावना हटाई सबै टोलीलाई समान अवसर प्रदान गर्नेछ । कार्यक्रमले सङ्केत लेखनसँगै समस्या पहिचान, अनुसन्धान, नवीन सोच तथा प्रविधिमार्फत व्यावहारिक समाधान विकास गर्ने क्षमतामा पनि जोड दिनेछ।
पुरस्कारतर्फ प्रथम हुने टोलीले ६० हजार रुपैयाँ, द्वितीयले ४० हजार रुपैयाँ र तृतीयले २५ हजार रुपैयाँ नगदसहित अवार्ड र प्रमाणपत्र प्राप्त गर्नेछन्। ‘लुम्बिनीएक्स विशेष पुरस्कार’ अन्तर्गत १५ हजार रुपैयाँको विशेष पुरस्कार पनि प्रदान गरिनेछ। कुल पुरस्कार राशि दुई लाख रुपैयाँ रहेको आयोजकले जनाएको छ ।
यसका अतिरिक्त उत्कृष्ट १० टोलीका सदस्यलाई कृत्रिम बुद्धिमत्तामा आधारित विभिन्न सशुल्क सफ्टवेयरको सुविधा, अनलाइन डिजाइन सेवा, क्लाउड होस्टिङ तथा परियोजना सञ्चालन सेवा, विभिन्न प्रविधिसम्बन्धी सामग्री तथा चलचित्रका टिकट उपलब्ध गराइनेछ । साथै, योग्यता पुगेका चार जना सहभागीलाई बेलायतस्थित एनसीसी एजुकेसनमार्फत कृत्रिम बुद्धिमत्ता र साइबर सुरक्षासम्बन्धी अध्ययन अवसर प्रदान गरिने आयोजकले जनाएको छ ।

