रास्वपा सभापति लामिछानेको अपिल:अफवाह र उत्तेजनाको पछि नलागी संयमता अपनाऔं

by समतल अनलाइन
39Shares

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरीसहित पूर्वी जिल्लामा हालै भएका संवेदनशील घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै शान्ति, सामाजिक सद्भाव र संयमता कायम राख्न सबै पक्षसँग अपिल गरेका छन्।

मंगलबार जारी विज्ञप्तिमार्फत लामिछानेले रास्वपाले स्थिति सामान्य बनाउन नेपाल सरकार र स्थानीय प्रशासनसँग निरन्तर सहजीकरण गरिरहेको बताएका छन्। भनेका छन्, ‘यस संवेदनशील परिस्थितिमा तत्काल शान्ति सुरक्षा कायम गर्न, आम नागरिकको जिउधनको रक्षा गर्न र परिस्थितिलाई सामान्यीकरण गर्न हामी नेपाल सरकार र स्थानीय प्रशासनसँग निरन्तर सहजीकरणमा छौं ।’

उनले घटनाको स्वतन्त्र, निष्पक्ष र छिटो छानबिन गर्न, दोषीमाथि कडा कानुनी कारबाही गर्न, पीडितलाई उचित न्याय तथा क्षतिपूर्ति उपलब्ध गराउन र घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्। ‘साथै, यस घटनाको जरोसम्म पुग्ने गरी स्वतन्त्र, निष्पक्ष र द्रुत छानबिन गरी दोषीउपर कडा कानुनी कारबाही गर्न र पीडित पक्षलाई उचित न्याय तथा राहत (क्षतिपूर्ति र निःशुल्क उपचार) उपलब्ध गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौं,’ विज्ञप्तिमा सभापति लामिछानले भनेका छन् ।

लामिछानेले कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा र मुठभेडबाट सम्भव नभएको उल्लेख गर्दै नेपालको बहुलवादी संस्कृति, आपसी एकता, सहिष्णुता र सामाजिक सद्भाव जोगाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएका छन्।

उनले नागरिक, धार्मिक तथा सामाजिक अगुवा र सरोकारवालालाई साम्प्रदायिक सद्भाव खलबल्याउने गतिविधिबाट टाढा रहन तथा अफवाह र उत्तेजनाको पछि नलाग्न आग्रह गरेका छन्।

रास्वपाले शान्ति, न्याय र सामाजिक सद्भावप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै संवादमार्फत समस्याको शान्तिपूर्ण समाधान खोज्न सकारात्मक भूमिका निर्वाह गर्न तयार रहेको जनाएको छ। सभापति लामिछानेले घटनालाई कुनै पनि बहानामा राजनीतिकरण नगर्न राजनीतिक दल तथा सम्बद्ध पक्षसँग आग्रह गरेका छन्। साथै, रास्वपाका स्थानीय समिति र पार्टीका सदस्यलाई प्रभावित क्षेत्रमा शान्ति र सामाजिक सद्भाव कायम राख्न सहयोगी भूमिका खेल्न निर्देशन दिएका छन्।

भनेका छन्, ‘यस अत्यन्तै संवेदनशील र दुःखद घटनालाई कुनै पनि बहानामा राजनीतिकरण नगर्न हामी सबै राजनीतिक दल तथा सम्बद्ध पक्षहरूसँग विशेष आग्रह गर्दछौं। रास्वपाका स्थानीय समितिका सम्पूर्ण सदस्यहरु लगायत सम्पूर्णलाई शान्ति र सदभाव कायम राख्न सहयोगी भूमिका खेल्न यसै विज्ञप्तिमार्फत् विशेष निर्देशन दिइन्छ।’

You may also like

This will close in 0 seconds