प्रश्नपत्र ‘लिक’ प्रकरणमा दुई जना पक्राउ

by समतल अनलाइन
57Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

प्रश्नपत्र परीक्षाकै समयमा बाहिरिएको समाचार सार्वजनिक भएपछि शिक्षामन्त्री सस्मित पोखरेलले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीसँग शनिबार राति नै छलफल गरेका थिए। छलफलका क्रममा मन्त्री पोखरेलले प्रश्नपत्र बाहिर ल्याउने कार्यमा संलग्न व्यक्तिलाई तत्काल नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाउन निर्देशन दिएका थिए।

त्यसपछि प्रहरीले आइतबार बिहान प्रश्नपत्र सार्वजनिक गर्ने आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार ‘सुलभ सर’ भनिने व्यक्तिसहित दुई जनालाई पक्राउ गरिएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।

घटनापछि मन्त्री पोखरेलले मन्त्रालयमै सम्बन्धित अधिकारीहरूसँग छलफल गरेका थिए। उनले प्रहरी उच्च अधिकारी र त्रिविका पदाधिकारीसँग परामर्श गर्दै घटनाको छानबिन, दोषी पहिचान र आवश्यक कारबाहीका विषयमा छलफल गरेका थिए।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत एमबीएसको प्रश्नपत्र सार्वजनिक गरेका थिए। ‘एमबीएस फर्स्ट सेम सेक्सन सी’ नामको ह्वाट्सएप ग्रुपमा परीक्षा सुरु भएको करिब पाँच मिनेटमै प्रश्नपत्र पठाइएको खुलेको छ।

गत ८ साउनमा सञ्चालन भएको स्नातकोत्तर तहको ‘अर्गनाइजेसनल बिहेबियर’ विषयको परीक्षा चलिरहेकै समयमा प्रश्नपत्र सामाजिक सञ्जालमार्फत बाहिरिएको थियो। परीक्षा सुरु भएको केही मिनेटमै प्रश्नपत्र बाहिरिएको भन्दै फेसबुक पेज ‘टीयू स्टुडेन्ट्स’ ले त्रिविको ध्यानाकर्षण गराएको थियो। उक्त पेजले प्रश्नपत्र पठाइएको ह्वाट्सएप ग्रुपका स्क्रिनसटसमेत सार्वजनिक गरेको थियो।

प्रश्नपत्र बाहिरिएपछि त्रिवि व्यवस्थापन संकाय डिनको कार्यालयले साइबर ब्युरोलाई अनुसन्धानका लागि पत्राचार गरेको थियो। यसैबीच, त्रिवि परीक्षा सञ्चालन समितिले घटनाको छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ। प्रा. डा. अच्युत ज्ञवालीको संयोजकत्वमा गठित समितिमा अनुगमन निर्देशनालयका उपनिर्देशक सहप्रा. डा. पुष्कर रैखला र केन्द्रीय परीक्षा सञ्चालन समितिका सदस्य सहप्रा. डा. महेशराज ओझा सदस्य रहेका छन्। समितिलाई घटनाको सत्यतथ्य पत्ता लगाई आवश्यक सुझावसहित सात कार्यदिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ।

You may also like