आज देशभर वर्षाको सम्भावना: गण्डकी-लुम्बिनीमा भारी वर्षा, काठमाडौंमा दिउँसोपछि पानी पर्ने

by समतल अनलाइन
44Shares

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) देशभर सामान्यदेखि पूर्ण बदली रहने र विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान, बागमती प्रदेशका थोरै स्थान तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली भूभागका केही स्थान तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने सम्भावना छ।

त्यस्तै, लुम्बिनी र सुदूरपश्चिमका तराईका धेरै स्थान, बागमती र गण्डकीका तराईका केही स्थान, कोशी प्रदेशको तराई तथा मधेस प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ।

दिउँसोः देशको हिमाली र पहाडी भू-भाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा साधारणतया बादल लाग्नेछ । मधेश तथा कोशी प्रदेशका तराई भू-भागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली भू-भागका केही स्थानमा तथा पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका धेरै स्थानमा, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका केही स्थान तथा कोशी प्रदेशको तराई भू-भाग र मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

रातिः देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। मधेश तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भू-भागका केही स्थान र कोशी प्रदेशको तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भाग तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भू-भागका पनि एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

मौसमविद्का अनुसार गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

आज राति पनि देशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै, मधेस तथा बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कोशी प्रदेशका तराईका केही स्थानमा पनि वर्षाको सम्भावना छ।

रातिको समयमा बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

यसैबीच, मौसमविद् बिनु महर्जनका अनुसार काठमाडौं उपत्यकामा पनि आज दिउँसो २–३ बजेदेखि हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। उनका अनुसार बिहान केही स्थानमा फाट्टफुट्ट वर्षा भए पनि केही समय घाम–बादलको अवस्था रहनेछ। त्यसपछि दिउँसोदेखि पुनः वर्षा सुरु हुने सम्भावना रहेको छ।

मौसमविद्हरूले विशेषगरी भारी वर्षाको सम्भावना भएका क्षेत्रमा बाढी, पहिरो, डुबान तथा सडक अवरुद्ध हुने जोखिमलाई ध्यानमा राखी आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।

You may also like