घरमाथिको ३३ केभी प्रसारण लाइन हटेपछि बुटवलका स्थानीयलाई राहत

by समतल अनलाइन
59Shares

बुटवल। बुटवलको चौराहदेखि सुनवलतर्फ रहेको ३३ केभी हाईटेन्सन प्रसारण लाइन स्थानान्तरण गरिएपछि वर्षौंदेखि सुरक्षा जोखिम, मानसिक तनाव तथा प्रशासनिक झन्झट झेल्दै आएका स्थानीयवासीले राहत महसुस गरेका छन्।

नेपाल विद्युत् प्राधिकरणले मुख्य राजमार्ग क्षेत्र हुँदै नयाँ रुटमा प्रसारण लाइन सारेर पुरानो लाइन हटाएपछि प्रत्यक्ष रूपमा ४७ घरधुरी र घडेरीसहित करिब १०५ घरधुरी लाभान्वित भएका छन्। बस्तीमाथिबाट गुज्रिएको उच्च भोल्टेज लाइनका कारण स्थानीयले लामो समयदेखि विभिन्न समस्या भोग्दै आएका थिए।

स्थानीयका अनुसार घरमाथिबाट प्रसारण लाइन गुज्रिँदा सधैं विद्युत् दुर्घटनाको त्रास रहन्थ्यो। घर निर्माण तथा विस्तार गर्न कठिन हुने, नक्सा स्वीकृतिमा अवरोध आउने, बैंकमा धितो राखेर ऋण लिन समस्या हुने र सम्पत्तिको पूर्ण उपयोग गर्न नसकिने अवस्था वर्षौंदेखि कायम थियो।

स्थानीय भगवती पन्थीले प्रसारण लाइन हटेपछि परिवार सुरक्षित भएको अनुभूति भएको बताइन्। उनका अनुसार लामो समयदेखि मनमा रहेको डर अन्त्य भएसँगै अब घर र जग्गाको उपयोग सहज हुने अपेक्षा गरिएको छ।

अर्का स्थानीय घनश्याम घिमिरेले उच्च भोल्टेज लाइनका कारण विगतमा दुर्घटनाको जोखिम सधैं रहने गरेको स्मरण गर्दै अब सुरक्षित वातावरणमा बसोबास गर्न पाउने विश्वास व्यक्त गरे। उनले लाइनका कारण घरको नक्सा पास गर्न र बैंकबाट ऋण लिनसमेत समस्या हुने गरेको बताए।

बुटवल उपमहानगरपालिका–८ का वडाध्यक्ष यज्ञप्रसाद पंगेनीले स्थानीय, नेपाल विद्युत् प्राधिकरण तथा सम्बन्धित निकायबीचको समन्वय र निरन्तर पहलका कारण लामो समयदेखिको समस्या समाधान भएको बताए। उनका अनुसार प्रसारण लाइन स्थानान्तरणसँगै स्थानीयको सुरक्षा सुनिश्चित हुनुका साथै घरजग्गाको उपयोग, पूर्वाधार विकास र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्नेछ।

विसं २०२९ सालमा बस्ती विकास हुनुअघि जडान गरिएको उक्त प्रसारण लाइन समयसँगै बाक्लो बस्तीबीच परेपछि स्थानीयले यसको स्थानान्तरणको माग गर्दै आएका थिए। अहिले लाइन हटाइएपछि प्रभावित क्षेत्रका बासिन्दाले वर्षौंदेखिको त्रासबाट मुक्ति पाएको बताएका छन्।

You may also like