काठमाडौं ।बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत कर्जा रकम दुरुपयोग गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले एशियन भिलेज रिसोर्ट प्रालिका अध्यक्ष शशिधर शर्मालाई पक्राउ गरेको छ । सीआईबीले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार नेपाल राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले तयार गरेको विशेष स्थलगत निरीक्षण प्रतिवेदनका आधारमा अनुसन्धान अघि बढाइएको हो ।
अनुसन्धानका क्रममा एशियन भिलेज रिसोर्ट प्रालिले रिसोर्ट निर्माण तथा जग्गा खरिदका लागि प्रभु बैंक लिमिटेडबाट ४५ करोड रुपैयाँ कर्जा लिएको पाइएको छ । उक्त कर्जा कम्पनीका अध्यक्ष शर्माले कम्पनीको नाममा रहेको जग्गा धितो राखेर प्राप्त गरेका थिए । तर, प्राप्त कर्जा रिसोर्ट निर्माण तथा स्वीकृत प्रयोजनमा प्रयोग नगरी आफ्नो तथा सम्बन्धित अन्य कम्पनीका कर्मचारीहरूको व्यक्तिगत दायित्व तिर्न प्रयोग गरिएको आरोप प्रहरीले लगाएको छ । यसरी कर्जा रकम दुरुपयोग गरेको भन्दै बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ७ बमोजिम कसुर गरेको निष्कर्षसहित अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ ।
यसै क्रममा जिल्ला रूपन्देही, तिलोत्तमा नगरपालिका–४ घर भई हाल काठमाडौं महानगरपालिका–४, पिपलचोक बस्दै आएका ५८ वर्षीय शशिशेखर शर्मालाई मंगलबार पक्राउ गरिएको हो । उनी एशियन भिलेज रिसोर्ट प्रालिका अध्यक्ष हुन् ।

