काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले हराएका, बेवारिसे अवस्थामा फेला परेका तथा सडकमा आश्रित बालबालिकाको खोजतलास, उद्धार र पारिवारिक पुनर्मिलनमा उल्लेखनीय प्रगति भएको जनाएको छ ।
मन्त्रालयअन्तर्गत सञ्चालित बालबालिका खोजतलास समन्वय केन्द्र (१०४) का अनुसार २०८२ चैत १३ देखि २०८३ असार १० गतेसम्म हराएका २ हजार ४४० बालबालिकाको विवरण दर्ता भएकोमा २ हजार ४६ जना सकुशल फेला परेका छन् । यो कुल दर्ता भएका घटनाको करिब ८४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
हालसम्म फेला नपरेका ३९४ बालबालिकाको खोजी नेपाल प्रहरी तथा सम्बन्धित निकायसँगको समन्वयमा जारी रहेको मन्त्रालयले जानकारी दिएको छ । यस अवधिमा बेवारिसे अवस्थामा फेला परेका १०३ बालबालिकाको उद्धार गरी संरक्षणमा राखिएको छ। तीमध्ये ६० जनालाई परिवारसँग पुनर्मिलन गराइएको छ भने ४३ जना हाल विभिन्न संस्थामा सुरक्षित संरक्षणमा रहेका छन्।
त्यसैगरी सडकमा आश्रित ६६ बालबालिकाको उद्धार गरिएकोमा २१ जनालाई परिवारको जिम्मा लगाइएको छ। बाँकी ४५ जना संस्थागत संरक्षणमा रहेको मन्त्रालयले जनाएको छ। बेवारिसे अवस्थामा फेला परेका र सडकमा आश्रित गरी कुल १६९ बालबालिकाको उद्धार गरिएकोमा ८१ जनालाई परिवारसँग पुनर्मिलन गराइएको छ। अन्य ८८ जना बालबालिका भने हाल सुरक्षित संस्थागत संरक्षणमा रहेका छन्। मन्त्रालयका अनुसार नेपाल प्रहरी, स्थानीय तह, राष्ट्रिय बाल अधिकार परिषद् तथा अन्य सरोकारवाला निकायसँगको समन्वयमा जोखिममा रहेका बालबालिकाको खोजतलास, उद्धार, संरक्षण र पारिवारिक पुनर्मिलनलाई उच्च प्राथमिकताका साथ अघि बढाइएको छ।
मन्त्रालयले बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राख्दै बाल संरक्षण प्रणालीलाई थप सुदृढ, प्रभावकारी र उत्तरदायी बनाउने कार्यलाई निरन्तरता दिइएको जनाएको छ। साथै हराएका, जोखिममा परेका तथा संरक्षणको आवश्यकता भएका बालबालिकाको खोजतलास, उद्धार, पुनर्स्थापना र पारिवारिक पुनर्मिलनका कार्यक्रमलाई आगामी दिनमा अझ प्रभावकारी बनाइने प्रतिबद्धता पनि मन्त्रालयले व्यक्त गरेको छ।

