नेपाली भूमिमा भारतको दाबी, एसएसबीले आफ्नै भूमिमा बनाउन दिएन तटबन्ध

by समतल अनलाइन

टीकापुर । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपालतर्फ निर्माण भइरहेको तटबन्ध रोक्न दबाब दिएको छ ।

कैलालीको टीकापुर नगरपालिका–७ कालाकुण्डानजिकै मोहना नदीमा नेपाल पक्षबाट तटबन्ध निर्माण भइरहेको छ । नेपालतर्फको उक्त नदीकिनारको केही भूभाग आफ्नो भएको दाबी गर्दै एसएसबीले तटबन्ध निर्माण रोक्न दबाब दिएको हो ।

मोहना नदीकिनारमा राष्ट्रिय गौरवको रानीजमरा कुलरिया सिँचाइ आयोजनाले ठेक्कामा तटबन्ध बनाउन लगाएको छ । निर्माण कम्पनी स्काई जेभीले आयोजनासँग सम्झौता गरेर उक्त क्षेत्रमा सात सय ५० मिटर तटबन्धको काम गरिरहेको छ ।

कम्पनीका प्रतिनिधि धीरेन्द्र शाहीले भारतीय पक्षले निर्माण रोके ५० मिटरभन्दा बढी क्षेत्रको कार्य प्रभावित हुने बताए । ‘भारतीय सीमा सुरक्षा बलले एक ठाउँमा चिनो लगाइ दिएर अघि नबढ्न भनेको छ,’ उनले भने, ‘अहिले हाम्रो काम चिह्न लगाएभन्दा यताको भूभागमा मात्रै भइरहेको छ ।’

शाहीका अनुसार भारतीय सीमा सुरक्षा बलले तटबन्ध निर्माणका लागि सिमाना तोकिदिएकोबारे आयोजनालाई जानकारी गराइसकिएको छ । आयोजनाबाट पनि तटबन्ध निर्माणस्थलको स्थलगत अध्ययन भइसकेको छ ।

वडाध्यक्ष रामलाल डगौरा थारूले तटबन्ध निर्माणमा भारतीय पक्षले हस्तक्षेप गरेको बताए । नदीले त्यस क्षेत्रमा रहेको १०८ नम्बरको सीमास्तम्भ बगाएका कारण सीमा विवाद भइरहेको उनको भनाइ छ ।

भारतले सीमास्तम्भ १०७ देखि १०९ सम्म सीधा गर्दाको भूभागलाई आफ्नो दाबी गर्दै आएको छ । तर उसले हराएको सीमास्तम्भ १०८ लाई आधार मान्नुपर्ने नेपाल पक्षको भनाइलाई अस्वीकार गर्दै आएको छ ।

त्यसकारण नेपालको भूभाग भारतमा गाभिने अवस्था रहेको स्थानीय बताउँछन् । वडाध्यक्ष थारूले सीमाक्षेत्र स्पष्ट पार्नुपर्ने आवश्यकता औंल्याए । ‘स्पष्ट रूपमा सिमाना छुट्ट्याएर मात्रै भारतले निर्माणमा रोक लगाउनुपथ्र्यो,’ उनले भने, ‘अन्दाजका भरमा नदी कटानको जोखिममा रहेको क्षेत्रमा बन्न लागेको तटबन्ध रोक्नु हुँदैनथ्यो ।’ नागरिक दैनिकबाट

 
 
  
 

You may also like