बुटवल।मातृ तथा शिशु स्वास्थ्यका सूचकमा नेपालकोे समग्र अवस्थामा सुधार देखिए पनि लुम्बिनी प्रदेशको अवस्था अझै सन्तोषजनक नभएको स्वास्थ्य विज्ञहरूले बताएका छन् । बचाउन सकिने धेरै मातृ मृत्यु हुनुले स्वास्थ्य प्रणालीलाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको उनीहरूको भनाइ छ । रोटरी क्लब अफ बुटवलको १६२० औँ नियमित बैठकमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलकी कन्सल्टेन्ट स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. शिला ढकालले मातृ तथा शिशु स्वास्थ्य, मानसिक स्वास्थ्य, महिला प्रजनन स्वास्थ्य तथा नेपालमा महिला एवं बाल स्वास्थ्यको वर्तमान अवस्था, चुनौती र समाधानका उपायबारे प्रस्तुति दिँदै लुम्बिनी प्रदेशको अवस्थाबारे चिन्ता व्यक्त गरिन् ।
उनका अनुसार सन् २०२५ सम्म मातृमृत्यु दर १५० भन्दा तल झार्ने लक्ष्य राखिएकोमा हाल यो दर १४१ मा झरेको छ, जुन सकारात्मक उपलब्धि भए पनि अझै धेरै सुधार गर्नुपर्ने अवस्था रहेको छ । “बचाउन सकिने धेरै मातृ मृत्यु रोक्न हामी अझै सफल हुन सकेका छैनौं,“ उनले भनिन् ।
डा. ढकालका अनुसार लुम्बिनी प्रदेशमा मातृमृत्युको अवस्था अझै गम्भीर रहेको छ । लुम्बिनी प्रदेशमा २०७ जना वर्षमा मृत्यु भएको तथ्याक रहेको छ । विशेषगरी कपिलवस्तु जिल्लामा मातृमृत्यु दर सबैभन्दा बढी रहेको जानकारी दिँदै उनले यसको प्रमुख कारण शिक्षाको कमी, मुस्लिम समुदायको बाहुल्यता भएका क्षेत्रमा स्वास्थ्य सचेतनाको अभाव तथा खुला सीमाका कारण भारततर्फ शल्यक्रिया गराएर फर्किएका महिलामा संक्रमण (इन्फेक्सन) बढ्ने र त्यसकै कारण मृत्यु हुने गरेको बताइन् । कपिलवस्तुमा मातृ तथा शिशु स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि, सुरक्षित प्रसूति सेवा विस्तार तथा समयमै स्वास्थ्य संस्थामा पहुँच सुनिश्चित गर्न विशेष अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता उनले औँल्याइन् । प्रस्तुतिका क्रममा उनले महिला प्रजनन स्वास्थ्यसँगै मानसिक स्वास्थ्यलाई पनि उत्तिकै महत्व दिनुपर्ने बताइन् । गर्भावस्था र सुत्केरी अवस्थाको मानसिक स्वास्थ्यमा ध्यान नदिँदा आमा र शिशु दुवैको स्वास्थ्यमा दीर्घकालीन असर पर्न सक्ने भएकाले समुदायस्तरदेखि नै सचेतना विस्तार गर्नुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा क्लबका अध्यक्ष यदुनाथ पाण्डेयले रोटरीको मर्म अनुसार शिक्षा, स्वास्थ्य, सरसफाई लगायत क्षेत्रमा क्लबबाट आवश्यक पहल गर्ने प्रतिवद्धता जनाए । मातृ तथा शिशु स्वास्थ्य सुधारका लागि सरकारी निकायसँगै सामाजिक संघसंस्थाको पनि महत्वपूर्ण भूमिका रहने भन्दै क्लबबाट सचेतनाका कार्यक्रम गर्ने उनले बताए ।
कार्यक्रममा क्लबका पूर्वअध्यक्ष तथा सदस्यहरु आमोद सिमागौडा, पुरन श्रेष्ठ, रोम शर्मा, अनामिका अर्याल, रोहित शाह, गोबिन्द खनाल, मधु प्र. अर्यालले आफना जिज्ञासाहरु राखेका थिए ।
कार्यक्रममा क्लबका सचिव दिवाकर घिमिरेले यो वर्ष क्लबबाट गरिने कार्यहरुबारे प्रकाश पार्दै सबै सदस्यहरुको साथ र सहयोग जरुरी रहने बताए ।

