बुटवल।२१३औँ भानुजयन्तीको अवसरमा बुटवलमा आयोजित माध्यमिक विद्यालयस्तरीय रामायण वाचन प्रतियोगितामा ज्ञानज्योति माध्यमिक विद्यालय प्रथम भएको छ। एभरेष्ट इङ्लिस बोर्डिङ स्कुल र ग्रिन सिटी भेइकल्स बुटवलको सहयोगमा ज्ञानज्योति पुस्तकालयले आयोजना गरेको प्रतियोगितामा ज्ञानज्योति माविका निश्मा गौतम र निमेश गौतमले उत्कृष्ट वाचन गर्दै विद्यालयलाई प्रथम स्थान दिलाएका हुन्।
प्रतियोगितामा तिनाउ इङ्लिस बोर्डिङ स्कुल दोस्रो, न्यु होराइजन माध्यमिक विद्यालय तेस्रो तथा दिप बोर्डिङ हाई स्कुल सान्त्वना स्थानमा रहे। तिनाउका सोनाक्षी क्षेत्री र सक्षम शाक्य, न्यु होराइजनका समिप न्यौपाने र वृन्दा गैरे तथा दिप बोर्डिङका प्रिन्सा पोखरेल र सुप्रिम पोखरेलले पनि उत्कृष्ट रामायण वाचन प्रस्तुत गरेका थिए।
कार्यक्रमको उद्घाटन गर्दै रुपन्देहीका जिल्ला शिक्षा समन्वय प्रमुख विष्णु प्रसाद पन्थीले आदिकवि भानुभक्त आचार्यको योगदान नेपाली भाषा, साहित्य, संस्कृति र राष्ट्रिय पहिचानका लागि अतुलनीय रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले विद्यार्थीको प्रतिभा विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए।
ज्ञानज्योति पुस्तकालयका अध्यक्ष टुकबहादुर क्षेत्रीले भानुभक्तको स्मरणलाई अर्थपूर्ण बनाउन पुस्तकालयले विगतदेखि नै रचनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको बताए। उनले नयाँ पुस्तालाई आदिकविको योगदानबारे जानकारी गराउने र नेपाली साहित्यप्रति रुचि बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिए। पुस्तकालय हाल आफ्नै भवनमा ई–लाइब्रेरीसहित सञ्चालनमा रहेको र यहाँ करिब ५ हजार ८ सय पुस्तक रहेको उनले बताए।
कार्यक्रममा एभरेष्ट इङ्लिस बोर्डिङ स्कुलका सह–प्रधानाध्यापक भीमसेन गौतम, साहित्यकार रमेश समर्थक, शंकर पाण्डे, छन्दवादी समाजका संस्थापक अध्यक्ष कविराज पौडेल तथा अधिवक्ता ज्ञानु केसीले नेपाली भाषा र साहित्यप्रति विद्यार्थीको आकर्षण बढाउन यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा व्यक्त गरे।
कार्यक्रममा कलाकार भुवन अधिकारी, पुरुषोत्तम भण्डारी ‘पुर्खे बा’ तथा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए। प्रोफेसर प्रकाश सुवेदीका अनुसार प्रतियोगितामा रुपन्देहीका २० विद्यालयका ४० विद्यार्थी सहभागी भएका थिए।

