वाणगंगा नदीमा फसेका ७ जनाको सकुशल उद्धार

by समतल अनलाइन
31Shares

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नदीमा फसेका ७ जना युवकको सकुशल उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसारशनिबार दिउँसो वाणगंगा नगरपालिका–८ बालापुरस्थित वाणगंगा खोलामा पौडी खेल्न गएका क्रममा अचानक खोलाको बहाव बढेपछि ७ जना पुरुष खोलाको बीच भागमा फसेका थिए ।

घटनाको जानकारी पाएलगत्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त विपद् उद्धार टोली घटनास्थलमा पुगेर उद्धार कार्य थालेको थियो। टोलीले खोलाको बीचमा फसेका सबै ७ जनालाई सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उद्धार गरिएकामा वाणगंगा नगरपालिका–४ का १७ वर्षीय सम्राट ग, १७ वर्षीय ज्ञानेन्द्र परियार, १८ वर्षीय निर्वाचन नेपाली, १७ वर्षीय कृष्ण तिवारी, १७ वर्षीय मनिष थापा, वाणगंगा–१ बैरियाका १६ वर्षीय विकल्प रेस्मी र वाणगंगा–८ त्रिलोक मार्गका १७ वर्षीय सुवास घिमिरे रहेका छन्।

प्रहरीले वर्षायाममा खोलानाला तथा नदीमा पानीको बहाव बढ्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको छ।

You may also like