98
बुटवल । रुपन्देहीमा प्रहरीले गोली प्रहार गरी एक भारतीय नागरिकलाई लागुऔषधसहित पक्राउ गरेको छ।
जिल्लाको मायादेवी गाउँपालिका–स्थित गुरुहनियाँ क्षेत्रमा लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले कारबाहीका क्रममा भारतको उत्तर प्रदेश निवासी उकवाल खानलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार नियन्त्रणमा लिन खोज्दा उनले भाग्ने प्रयास गरेपछि एक राउण्ड गोली प्रहार गरिएको थियो।
गोली खानको खुट्टामा लागेको प्रहरीले जनाएको छ। घाइते उनलाई उपचारका लागि अस्पताल पठाइएको छ।
रुपन्देही प्रहरीका प्रवक्ता डीएसपी कृष्णबहादुर चन्दका अनुसार पक्राउ परेका खानको साथबाट २०० ग्रामभन्दा बढी खैरो हेरोइन, एक थान पेस्तोल तथा दुई राउण्ड गोली बरामद गरिएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

