लुम्बिनी वाणिज्य क्याम्पस र चैतन्य एकेडेमीबीच सहकार्य, विद्यार्थीले निःशुल्क तथा सहुलियतमा लोकसेवा तयारी गर्ने

by समतल अनलाइन
21Shares

बुटवल।लुम्बिनी वाणिज्य क्याम्पस, बुटवल र चैतन्य एकेडेमी नेपाल, बुटवलबीच विद्यार्थीहरूको शैक्षिक विकास, अनुसन्धान प्रवद्र्धन तथा प्रतिस्पर्धात्मक परीक्षा तयारीलाई प्रभावकारी र गुणस्तरीय बनाउने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार चैतन्य एकेडेमी नेपालले लुम्बिनी वाणिज्य क्याम्पसका आवश्यक तथा जेहेन्दार विद्यार्थीहरूलाई लोकसेवा आयोग, शिक्षक सेवा आयोग, बैंकिङ, सार्वजनिक संस्थान तथा सुरक्षा निकायसम्बन्धी तयारी कक्षाहरू निःशुल्क वा सहुलियत शुल्कमा सञ्चालन गर्नेछ। साथै, दुवै संस्थाले संयुक्त रूपमा तालिम, कार्यशाला, सेमिनार, अतिथि व्याख्यान, करियर काउन्सेलिङ तथा शैक्षिक मार्गदर्शन कार्यक्रम सञ्चालन गर्ने सहमति गरेका छन्।

यस सहकार्यमार्फत अनुसन्धान, ज्ञान आदान–प्रदान, सीप विकास, उद्यमशीलता प्रवद्र्धन तथा संयुक्त शैक्षिक परियोजनाहरू सञ्चालन गर्ने वातावरण समेत निर्माण हुने अपेक्षा गरिएको छ। क्याम्पसले विद्यार्थी छनोट, समन्वय तथा कार्यक्रम व्यवस्थापनको जिम्मेवारी निर्वाह गर्नेछ भने चैतन्य एकेडेमी नेपालले दक्ष प्रशिक्षक, अध्ययन सामग्री, नमुना परीक्षा तथा शैक्षिक परामर्श सेवा उपलब्ध गराउनेछ।

दुई वर्षका लागि लागू हुने उक्त समझदारीपत्रमा लुम्बिनी वाणिज्य क्याम्पसका कार्यवाहक क्याम्पस प्रमुख सहप्राध्यापक डिल्लीराज गौतम र चैतन्य एकेडेमी नेपाल, बुटवल शाखाका प्रबन्ध निर्देशक दीपक ढकालले हस्ताक्षर गरेका छन्। कार्यक्रममा क्याम्पसका काउन्सेलिङ, प्लेसमेन्ट तथा उद्यमशीलता विकास सेलका संयोजक सहप्राध्यापक मुकुन्द ज्ञवाली साक्षीका रूपमा उपस्थित थिए।

चैतन्य एकेडेमी नेपालले शाखा विस्तारसँगै विगत दुई वर्षदेखि बुटवलमा स्थानीय स्तरमै लोकसेवा आयोगका नायब सुब्बादेखि उपसचिव तहसम्म, शिक्षक सेवा आयोग, बैंकिङ क्षेत्र तथा सुरक्षा निकायका तयारी कक्षाहरू सञ्चालन गर्दै आएको छ। संस्थाले भौतिक तथा अनलाइन दुवै माध्यमबाट नियमित कक्षाका साथै नमुना परीक्षा सञ्चालन गर्दै आएको छ, जसबाट सयौं विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

दुवै संस्थाले यस सहकार्यबाट विद्यार्थीहरूले गुणस्तरीय प्रतिस्पर्धात्मक परीक्षा तयारी, शैक्षिक क्षमता अभिवृद्धि, नेतृत्व विकास तथा व्यावसायिक सीप हासिल गर्ने अवसर प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन्। यस समझदारीले शैक्षिक संस्था र प्रतिस्पर्धात्मक परीक्षा तयारी गराउने संस्थाबीचको सहकार्यलाई थप सुदृढ बनाउँदै विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

You may also like