भाइरल बिरायनी विवादपछि उपभोक्ता र व्यवसायीबीच मेलमिलाप

by समतल अनलाइन
32Shares

बुटवल । बुटवलमा केही दिनअघि हैदराबादी दम बिरायनीमा प्लास्टिकको पञ्जा भेटिएको भन्दै सामाजिक सञ्जालमा भाइरल बनेको विवाद अन्ततः आपसी सहमतिमार्फत समाधान गरिएको छ । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देही र बुटवल मोबाइल व्यवसायी संघको पहलमा उपभोक्ता र सम्बन्धित व्यवसायीबीच छलफल गराएर विवाद समाधान गरिएको हो ।

दुवै पक्षबाट प्राप्त निवेदनका आधारमा छलफल गरी सहमतिमा पुगिएको होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष माधवकुमार खनालले जानकारी दिए । केही दिनअघि एक उपभोक्ताले घर लैजान खरिद गरेको मट्का बिरायनीमा प्लास्टिकको पञ्जा भेटिएको भन्दै सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरेका थिए । उक्त भिडियो व्यापक रूपमा भाइरल भएपछि प्रहरी, प्रशासन तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले सम्बन्धित बिरायनी हाउसको अनुगमन गरी आवश्यक सुधारका लागि सुझाव दिएको थियो ।

उपभोक्ता मुक्ति न्यौपानेले व्यवसायीबाट उचित प्रतिक्रिया नपाएपछि सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरेको बताए । तर त्यसपछि आफूले अपेक्षाभन्दा बढी नकारात्मक टिप्पणी, गालीगलौज र मानसिक तनाव सामना गर्नुपरेको उनको भनाइ छ ।

यता बिरायनी हाउसका सञ्चालक जनक खड्काले घटनापछि एक सातायता व्यवसायमा उल्लेख्य गिरावट आएको बताए । सामाजिक सञ्जालमा निरन्तर विषय उठाइँदा आफू व्यक्तिगत रूपमा समेत अपमानजनक टिप्पणीको सामना गर्नुपरेको उनको गुनासो छ । उनले कामदारबाट अनजानमा कमजोरी हुन सक्ने उल्लेख गर्दै सम्बन्धित निकायबाट अनुगमन भइसकेपछि पनि विषयलाई अनावश्यक रूपमा उचालिँदा व्यवसायमा नकारात्मक असर परेको बताए ।

छलफलका क्रममा सामाजिक सञ्जालको जिम्मेवार प्रयोग, उपभोक्ताको गुनासोप्रति व्यवसायीको संवेदनशीलता तथा तथ्य पुष्टि नगरी सामग्री भाइरल बनाउँदा पर्ने सामाजिक र व्यावसायिक असरबारे समेत छलफल भएको थियो । विवाद समाधानका लागि बुटवल मोबाइल व्यवसायी संघका अध्यक्ष दिपेन्द्र पाण्डे, संघका निवर्तमान अध्यक्ष लेखनाथ भण्डारी, वरिष्ठ उपाध्यक्ष अर्जुन थापा तथा सचिव तुल्सीराम पराजुलीले सहजीकरण गरेका थिए ।

दुवै पक्षले आगामी दिनमा आपसी संवादलाई प्राथमिकता दिने, उपभोक्ताको गुनासो समयमै सम्बोधन गर्ने तथा सामाजिक सञ्जालको जिम्मेवार प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

You may also like