बुटवलमा विद्युत समस्या समाधान गर्न एमालेको प्राधिकरणलाई ध्यानाकर्षण

by समतल अनलाइन
57Shares

बुटवल । बुटवल उपमहानगरपालिका र आसपासका क्षेत्रमा पछिल्लो समय देखिएको अनियमित विद्युत आपूर्ति र न्यून भोल्टेजको समस्यालाई लिएर नेपाल कम्युनिष्ट पार्टी (एमाले) बुटवल उपमहानगर कमिटीले नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ। कमिटीका अध्यक्ष शोभाखर पोखरेलको नेतृत्वमा मँगलबार कार्यालयमा पुगेर ध्यानाकर्षण पत्र बुझाइएको हो ।

नेपाल विद्युत प्राधिकरण, वितरण केन्द्र बुटवलका ध्यानाकर्षण पत्र बुझाउँदै पोखरेलले केही मिनेटको अन्तरालमा बारम्बार विद्युत जाने-आउने, न्यून भोल्टेज (डिम आउने) र भोल्टेज उतारचढाव हुने कारणले आम उपभोक्ता अत्यन्तै मारमा परेको उल्लेख गर् । यस प्रकारको समस्याले सर्वसाधारणको घरायासी जीवन, उद्योग-व्यवसाय, कार्यालय, अस्पताल, विद्यार्थीको अध्ययनका साथै विद्युतीय उपकरणहरूको सुरक्षामा समेत प्रत्यक्ष नकारात्मक असर पुर्‍याएको र पछिल्ला दिनहरूमा उपभोक्ताहरूबाट व्यापक गुनासो उठेको उनले बताए ।

विद्युत सेवालाई अत्यावश्यक सार्वजनिक सेवाका रूपमा उल्लेख गर्दै एमालेले यसको गुणस्तर, नियमितता र विश्वसनीयता सुनिश्चित गर्नु प्राधिकरणको दायित्व भएको स्मरण गराएको छ। मर्मत, स्तरोन्नति वा अन्य प्राविधिक कारणले आपूर्ति प्रभावित हुने भएमा त्यसको पूर्वसूचना समयमै सार्वजनिक गरी उपभोक्तालाई जानकारी गराउनुपर्ने बारे ध्यानाकर्षण गराइएको छ ।समस्या समाधानका लागि एमालेले बुटवल लगायत आसपास क्षेत्रमा भइरहेको बारम्बारको विद्युत अवरोध तथा न्यून भोल्टेजको समस्या तत्काल समाधान गर्न र भोल्टेज उतारचढावको प्राविधिक कारण पहिचान गरी दीर्घकालीन समाधानका लागि आवश्यक पूर्वाधार सुधार गर्न माग गरेको छ।

यस्तै, मर्मत वा स्तरोन्नतिका बेला समयमै सार्वजनिक सूचना जारी गर्ने व्यवस्था गर्न, विद्युत गुणस्तर सुधारका लागि आवश्यक ट्रान्सफर्मर, फिडर तथा वितरण प्रणालीको क्षमता अभिवृद्धि गर्न, उपभोक्ताको गुनासो तत्काल सुन्ने प्रभावकारी संयन्त्र सञ्चालन गर्न र भोल्टेज उतारचढावका कारण उपभोक्तालाई हुने क्षति न्यूनीकरण गर्न आवश्यक कदम चाल्न ६ बुँदे माग अघि सारेको छ ।

ध्यानाकर्षण गराउनका लागि एमाले रुपन्देही अध्यक्ष यक्षप्रसाद गैरे, उप-सचिव बाबुराम पन्थी, एमाले नेता बाबुराम भट्टराई लगायत करिब दुई दर्जन नेता कार्यकर्ता विद्युत प्राधिकरणमा पुगेका थिए । ध्यानाकर्षणपत्र बुझ्दै प्राधिकरण बुटवल वितरण केन्द्रका प्रमुख ऋतेष गुप्ताले यो समस्या बुटवलको मात्र नभई देशव्यापी भएको जानकारी गराए । सम्बन्धित ठाउँसम्म यस समस्या बारे जानकारी तथा छलफल भइसकेको गराउँदै उनले समाधान हुने चरणमा रहेको दाबी गरे ।

You may also like