कर्मचारी सरुवा अब पारदर्शी र पूर्वानुमानयोग्य: मन्त्रालयद्वारा नयाँ सफ्टवेयर कार्यान्वयनमा

by समतल अनलाइन
36Shares

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी सरुवा प्रक्रियालाई थप व्यवस्थित, आधुनिक, प्रविधिमैत्री र पूर्वानुमानयोग्य बनाउने उद्देश्यले नयाँ ‘अनलाइन सरुवा सफ्टवेयर प्रणाली’ कार्यान्वयनमा ल्याएको छ। मन्त्रालयले एक आधिकारिक सूचना जारी गर्दै अबदेखि सरुवासम्बन्धी सम्पूर्ण कार्यहरू अनिवार्य रूपमा यही सफ्टवेयर प्रणालीमार्फत मात्रै सञ्चालन गरिने स्पष्ट पारेको छ।

यस नयाँ व्यवस्थाअनुसार, सरुवाका लागि इच्छुक कर्मचारीहरूले अनिवार्य रूपमा उक्त प्रणालीमा आफ्नो व्यक्तिगत खाता सिर्जना गर्नुपर्नेछ र सरुवाको निवेदन पनि अनलाइन प्रणालीमार्फत नै पेस गर्नुपर्नेछ। मन्त्रालयले अनलाइन प्रणालीबाहेक अन्य कुनै पनि माध्यमबाट प्राप्त हुने सरुवासम्बन्धी निवेदनहरू उपर कुनै पनि कारबाही नहुने कुरामा जोड दिएको छ। कर्मचारीहरूका लागि आवश्यक पर्ने म्यानुअल तथा अन्य आवश्यक जानकारीहरू सोही प्रणालीभित्रै उपलब्ध गराइएको छ।

मन्त्रालयले यस प्रणालीको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित सबै कर्मचारी तथा निकायहरूको सहयोगको अपेक्षा गरेको छ। सेवाग्राही तथा कर्मचारीहरूले सरुवा प्रणालीको लागि तोकिएको लिंक http://saruwa.mofaga.gov.np/ मा लग-इन गरी प्रक्रिया अगाडि बढाउन सक्नेछन्।

You may also like