अहिले नै पार्टी एकता गर्ने हतार छैन, तर सदनदेखि चुनावसम्म सहकार्य गर्न सकिन्छ : प्रचण्ड

by समतल अनलाइन
49Shares

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वामपन्थी र देशभक्त शक्तिहरू ढिला नगरी एक हुनुपर्ने बताएका छन् ।

मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा उनले राष्ट्रिय स्वाधीनता र बाह्य हस्तक्षेपका विरुद्ध सहकार्यका लागि अब ढिला गर्न नहुने बताएका हुन् ।

आफूलाई विभिन्न कोणबाट विश्लेषण गरिने गरेको भन्दै प्रचण्डले दुखेसो पोखे । ‘म विल्कुल हतारिएको छैन । हुन त मलाई मानिसहरूले विभिन्न कोणबाट हेर्दै विभिन्न चित्र बनाउने गरेका छन् । मैले क्रमभंग भन्यो भने के उत्पात गर्न थाल्यो भन्छन् । यो त प्रकृति र समाजको नियम हो– निरन्तरतामा क्रमभंग । मैले त्यही भन्ने गर्छु,’ उनले भने ।

एउटै ढर्रामा चल्ने नेता कतै नपुग्ने जिकिर गर्दै उनले केही नेताहरूको आलोचना पनि गरे । ‘क्रममै बस्नुभयो भने कतै पुगिँदैन । हाम्रा धेरै साथीहरू बसिरहेका छन् । बौद्ध भिक्षु जस्तो घण्टी बजाइराख्छु भन्या छ, अहिले पनि नयाँ जनवाद नै भनेको छ, त्यो कुराले कतै लाँदैन,’ उनले भने, ‘अहिले परिस्थिति फेरिएको छ, हामी पनि फेरिनुपर्छ । यसलाई परिवर्तन बुझ्ने नेता ठान्नुहुन्छ भने धन्यवाद, अर्को केही ठान्नुहुन्छ भने त्यो पनि धन्यवाद ।’

तत्काल पार्टी एकताको पक्षमा नरहे पनि उनले चुनावी सहकार्यमा जोड दिएका छन् । ‘हामीले हतारमा पार्टी एकता गर्ने र फुर्सदमा विभाजन भएर रोएर बस्ने अवस्था नआओस् भनेर समीक्षा गर्नुपर्छ,’ उनले भने, ‘अहिले नै पार्टी एकता गरिहालौँ भनेर मैले भनेको छैन, तर सदनदेखि चुनावसम्म सहकार्य गर्न सकिन्छ ।’

विगतको स्मरण गर्दै उनले जनताले दुई तिहाइ मत दिएको स्मरण गराउँदै त्यसको गम्भीर समीक्षा आवश्यक रहेको बताएका छन् । निरंकुशताविरुद्ध विगतमा मिलेरै सफलता प्राप्त गरिएको स्मरण गर्दै उनले अहिलेको परिस्थितिमा पनि त्यस्तै एकता आवश्यक रहेकोमा जोड दिए । ‘राष्ट्रिय स्वाधीनता, निरंकुशताका विरुद्ध, वैदेशिक दबाब र हस्तक्षेपका विरुद्ध छिटोभन्दा छिटो वामपन्थी र देशभक्तहरू एक हुनुपर्छ, यसलाई ढिला गर्नु गल्ती हुनेछ,’ उनले भने ।

You may also like