होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको स्थापना दिवस सुरु, ३० युनिट रगत संकलन

by समतल अनलाइन
39Shares

बुटवल । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, रुपन्देहीले आफ्नो २८औँ स्थापना दिवसको अवसरमा तीनदिने रचनात्मक कार्यक्रमको शुभारम्भ गरेको छ। स्थापना दिवसको पहिलो दिन शनिबार रक्तदान कार्यक्रम आयोजना गर्दै उत्सवको सुरुवात गरिएको हो।

संघका अध्यक्ष माधव खनाल, वरिष्ठ उपाध्यक्ष अर्जुन थापा, पर्यटन उपाध्यक्ष रोमाकान्त पाण्डे, प्रथम उपाध्यक्ष थम्मन भण्डारी, महासचिव केशवराज कंडेल तथा कोषाध्यक्ष अर्जुन पोखरेलले रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए।

कार्यक्रममा बोल्दै अध्यक्ष खनालले यस वर्ष स्थापना दिवसलाई विशेष रूपमा मनाउन तीनदिने कार्यक्रम तय गरिएको जानकारी दिए। उनका अनुसार आइतबार बृहत् सरसफाइ कार्यक्रम आयोजना गरिनेछ भने मंगलबार साधारण सभाको औपचारिक कार्यक्रमसँगै स्रष्टा सम्मान कार्यक्रम गरी स्थापना दिवस सम्पन्न गरिनेछ।

संघका निवर्तमान अध्यक्ष लेखनाथ भण्डारीले रक्तदानको महत्वबारे प्रकाश पार्दै सामाजिक कार्यमा संघ निरन्तर अग्रसर रहँदै आएको बताए। उनले रुपन्देहीमा रक्तदान अभियानलाई वर्तमान अवस्थामा पुर्‍याउन विभिन्न व्यक्तित्वहरूको महत्वपूर्ण योगदान रहेको स्मरण गरे।

रक्तदानलाई निरोगिताको प्रमाणका रूपमा लिन सकिने उल्लेख गर्दै उनले रगत अभावका कारण बिरामीले ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न यस्ता अभियान प्रभावकारी हुने बताए।

नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा ३० युनिट रगत संकलन भएको कार्यक्रम संयोजक प्रेम भट्टराईले जानकारी दिए।

You may also like