रास्वपामा गुट र ‘टिके प्रथा’ रोक्न चुनाव लडेँ : मनीष झा

by समतल अनलाइन
32Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदमा पराजित भएका नेता मनीष झाले पार्टीभित्र गुटबन्दी र ‘टिके प्रथा’ (टीका लगाएर पद बाँड्ने प्रवृत्ति) स्थापित नहोस् भन्नका लागि आफूले चुनावी मैदान रोजेको बताएका छन्।

चार जनाबीचको प्रतिस्पर्धामा विपिनकुमार आचार्यसँग पराजित भएपछि प्रतिक्रिया दिँदै झाले निर्वाचन परिणामलाई सहज रूपमा स्वीकार गरेका हुन्। उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘मेरो लागि निर्वाचन लोकतान्त्रिक प्रक्रिया हो। रास्वपामा गुट र टिके राजनीतिक अभ्यास नहोस् भनेर गरिएको एउटा प्रयास थियो। नेतृत्वले मेरो त्यो प्रयासलाई स्वीकार गरेर निर्वाचन प्रक्रिया अगाडि बढाइदिनुभयो, आभारी छु।’

पार्टीको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन आफूले उम्मेदवारी दिएको प्रष्ट पार्दै उनले नवनिर्वाचित महामन्त्री आचार्यलाई बधाई दिएका छन्। ‘म यो परिणाम स्वीकार गर्छु। मेरो मित्र विपिनलाई बधाई छ, मेरो अनुभव र क्षमताले सकेसम्म सहयोग गर्नेछु,’ झाले भनेका छन्।

यसअघि पार्टीको केन्द्रीय प्रवक्ताको महत्त्वपूर्ण भूमिकामा रहेका झाले अब आफ्नो पदीय दायित्व फेरिएको घोषणा गरेका छन्। उनले ‘आजैदेखि आफू केवल एक केन्द्रीय सदस्य र सांसदको रूपमा मात्र सक्रिय रहने’ प्रष्ट पारेका हुन्।

स्मरण रहोस्, रास्वपाको महामन्त्री पदका लागि विपिन आचार्य, मनीष झा, गणेश कार्की र सागर ढकालबीच प्रतिस्पर्धा भएको थियो। जसमा सभापति रवि लामिछाने निकट मानिएका विपिन आचार्य विजयी हुँदा झासहित अन्य तीन आकांक्षी पराजित हुन पुगेका हुन्।

You may also like