बुटवल । ज्ञानपुञ्ज इंगलिश सेकेन्डरी स्कूल ले विद्यार्थीहरूलाई लोकतन्त्र, संसदीय प्रक्रिया तथा विधिको शासनबारे व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले नमूना संसद् अभ्यास कार्यक्रम सञ्चालन गरेको छ। विद्यालयको बुटवल–१३ नहरपुरस्थित परिसरमा बुधबार आयोजित कार्यक्रममा कक्षा १० का विद्यार्थीहरूले संघीय सांसदको भूमिका निर्वाह गर्दै संसद्को कार्यप्रणालीको अभ्यास गरेका थिए।
अधिवक्ता दामोदर घिमिरे को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले देशका विभिन्न निर्वाचन क्षेत्रको प्रतिनिधित्व गर्दै कृषि, पर्यटन, पूर्वाधार विकास तथा जनसरोकारका विविध विषयमा धारणा राखेका थिए। सत्तापक्ष र प्रतिपक्षको भूमिकामा प्रस्तुत भएका विद्यार्थीहरूले संसदीय बहस, प्रश्नोत्तर तथा नीति सम्बन्धी विषयमा सक्रिय सहभागिता जनाएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि घिमिरेले विद्यार्थीहरूको प्रस्तुति वास्तविक संसद्को अभ्यास जस्तै प्रभावकारी रहेको उल्लेख गर्दै उनीहरूको प्रयासको प्रशंसा गरे। उनले यस्ता अभ्यासले विद्यार्थीहरूमा नेतृत्व क्षमता, अभिव्यक्ति कला तथा लोकतान्त्रिक मूल्य–मान्यताको विकास गर्न सहयोग पुग्ने बताए।
विद्यालयका प्राचार्य शंकर भण्डारी ले विद्यार्थीलाई पाठ्यपुस्तकमा सीमित नराखी व्यवहारिक तथा जीवनोपयोगी शिक्षा प्रदान गर्ने उद्देश्यले नमूना संसद् कार्यक्रम आयोजना गरिएको जानकारी दिए। उनले व्यवस्थापिका संसद्को संरचना, कार्य, अधिकार तथा विधेयक प्रस्तुत र पारित गर्ने प्रक्रियाबारे विद्यार्थीलाई प्रयोगात्मक माध्यमबाट जानकारी गराइएको बताए।
नमूना संसद् अभ्यास ज्ञानपुञ्ज पूर्व विद्यार्थी संघ का अध्यक्ष सिद्धार्थ कंडेल सहितको टोलीले सञ्चालन गरेको थियो। कार्यक्रममा सभामुख, उपसभामुख, सत्तापक्ष र प्रतिपक्षीय बेञ्चसहित संघीय संसद्को संरचनाअनुसार अभ्यास गराइएको थियो।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद भट्टराई, सहप्राचार्य भिम बस्नेत, घनश्याम पन्थी, अतिरिक्त क्रियाकलाप प्रमुख हरिप्रसाद भट्टराई लगायतको उपस्थिति रहेको थियो।




